नेपाल सम्वत् ११४३ को अवसरमा हेटौंडामा निकालिएको र्यालीमा सहभागीहरु ।

हेटौंडाः नेपालीको मौलिक सम्वत् नेपाल सम्वत् ११४३ को अवसरमा हेटौंडामा झाँकीसहितको र्याली निकालिएको छ । बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित नेपाल भाषा खलः परिसरबाट झाँकीसहितको र्यालीले हेटौंडा बजारक्षेत्र परिक्रमा गरेको थियो ।

र्यालीअघि आयोजित उद्घाटन समारोहमा सहभागीहरु ।

नेपाल सम्वत्को नयाँ वर्षको अवसरमा आयोजित र्यालीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, प्रतिनिधिसभा सदस्य निर्वाचनकी उम्मेदवार समेत रहनुभएकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार समेत रहनुभएका नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेश सभा सदस्य उम्मेदवार आनन्दराम पराजुली, मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, नेवा साँस्कृतिक पुचःको अध्यक्ष समेत रहनुभएका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको पनि उपस्थिति रहेको थियो ।

नेपाल सम्बत् ११४३ को अवसरमा हेटौंडा ८ कमानेमा निकालिएको र्याली ।

नेवारी परम्पराअनुसार सगुन वितरणपछि सुरु भएको र्यालीमा सहभागीलाई विभिन्न स्थानमा स्थानीयले पनि सगुन दिएका थिए । हेटौंडामा नेपाल भाषा खलः, नेवा साँस्कृतिक पुचःलगायत विभिन्न खलः, पुचःहरुको सहकार्यमा नेपाल सम्वत्को अवसरमा हरेक वर्ष र्यालीको आयोजना गर्ने गरिएको छ । नेपाल सम्वत्को नयाँ वर्षकै अवसरमा बुधबार हेटौंडा–८, कमानेमा पनि र्याली निकालिएको थियो । कमानेमा देउला समाजले निकालेको र्यालीमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, ८ नम्बर वडा अध्यक्ष राम थापाको पनि सहभागिता रहेको थियो ।