आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन टुंगिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन उत्साहजनक देखिएको छ । धेरै राजनीतिक दलहरुले आपसमा तालमेल (गठबन्धन) गरेर साझा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको संख्या अझ केही कम भए पनि ६ हजारभन्दा बढी व्यक्तिको मनोनयनले निर्वाचनलाई उत्साहजनक बनाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि आइतबार मनोनयन दर्ता गरिएको छ । यस्तै, ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ कुल ३ सय ३० सिटका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची दर्ता गराइसकेका छन् ।
आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभाका लागि २ हजार २ सय ९१ जना पुरुष र २ सय ३५ जना महिला गरी २ हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रदेशसभाका लागि ३ हजार १ सयय ७८ जना पुरुष, २ सय ९७ जना महिला र अन्य १ गरी ३ हजार ४ सय ७६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारको संख्या भने निकै न्यून देखिएको छ । प्रतिनिधिसभामा ९ दशमलब ३ प्रतिशत महिलाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभामा ८ दशमलब ५४ प्रतिशतमात्र महिलाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ परेको उम्मेदवारको मनोनयनलाई हेर्ने हो भने ८ दशमलब ८६ प्रतिशतमात्र महिलाको मनोनयन दर्ता भएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत् प्रतिनिधिसभाका लागि २ सिट रहेको मकवानपुर जिल्लामा २६ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, ४ सिट रहेको प्रदेशसभातर्फ ४३ जनाको मनोनयन परेको छ । जसमध्ये प्रतिनिसभातर्फ १ जना र प्रदेशसभातर्फ ७ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्रमशः १६ र १० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रदेशसभाका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा १० जना र १ (ख) मा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभाकै लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) मा ८ जना र २ (ख) मा १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारको मनोनयन दर्तासँगै निर्वाचनको वातावरण तातिने निश्चित छ । आगामी बुधबारसम्म देशभरका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएर चुनाव चिह्न प्रदान गरिसकेपछि निर्वाचनको प्रचारप्रसारले तिब्रता पाउने र देश नै चुनावमय हुने निश्चित । निर्वाचन आयोगले चुनावलाई मर्यादित र मितव्ययी बनाउन आचारसंहिता लागू गर्नुका साथै उम्मेदवारले गर्न पाउने अधिकतम खर्चको सीमा तोकिसकेको छ । अब निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवार र राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण पालना गर्दै तोकिएको खर्चको सीमाभित्र रहेर निर्वाचनको प्रचारप्रसार गर्नु आवश्यक छ ।










