हेटौंडा ९ मा निर्माण गरिएको दुर्गा मन्दिर ।

हेटौंडाः नवरात्रको पाँचौ दिन आज शुक्रबार देवी स्कंदमाताको पूजा आराधना गरिँदैछ । हिन्दु धर्मावलम्बीहरुले आज देवी स्कंदमाताको स्वरुपको पूजा आराधना गर्छन् । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात् आजकै दिन पूजा तथा आराधना गरिन्छ ।

कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ ।