हेटौंडा ९ मा निर्माण गरिएको दुर्गा मन्दिर ।

हेटौंडाः हिन्दू धर्मावलम्बी नेपालीहरुको प्रमुख चाड बडादशैंको तेस्रो दिन आज बुधबार चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल तृतीयामा पर्ने दशैंको तेस्रो दिन दश हात भएकी चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी एक दश हात भएकी चन्द्रघण्टाको प्रत्येक हातमा विभिनन शस्त्र–अस्त्रले विभूषित छन् ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ । दशैंको सुरुवात आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु हुने गर्दछ । हरेक घरको पूजाकोठा तथा शक्तिपिठहरुको जमरा घरमा घटस्थापना गरेर जमरा राख्दै दशैं भित्र्याइने गरिन्छ । प्रतिपदाका दिन घटस्थापना गरेर जमरा राख्नुका साथै शक्तिस्वरुपा भगवती शैलपुत्रीको पूजा आराधना गरिएको छ । द्वितीयाका दिन देवी ब्रह्मचारिणीको पूजा आराधना गरिएको छ । भोलि बिहीबार नवरात्रको चौथो दिन आश्विन शुक्ल चतुर्थीमा कुष्माण्ड भगवतीको पूजा आराधना गरिन्छ ।

दशैंको नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्नुका साथै विभिन्न शक्तिपिठको दर्शन गरिन्छ । देशका विभिन्न भागमा रहेका शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको विशेष भिड लाग्ने गर्दछ । हेटौंडामा रहेका भूटनदेवी, चुरियामाई, राजदेवी, मनकामना, पाथीभरा, दक्षिणकाली, वनस्खण्डी, बगलामुखी, नवदुर्गा मन्दिरलगायत शक्तिपिठहरुमा नवरात्रभर भक्तजनको घुइँचो लाग्ने गर्दछ ।