हेटौंडाः बारा जिल्लामा सौतेनी आमाको हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ ३० गते साँझ अन्दाजी सवा ६ बजेको समयमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–७, रंगपुरटोलका जयकिशोर यादवले सौतेनी आमा ततरीदेवीको हत्या गरेका थिए । हत्या गरी फरार भएका २५ वर्षीय जयकिशोर यादवलाई शुक्रबार पर्सा जिल्लाको इनरवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घरायसी विवाद हुँदा किशोरले खुकुरी प्रहार गर्दा तेतरी देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले नागरिकता बनाउने विषयमा विवाद हुँदा हत्या भएको हो । तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको प्रहरीले उल्लेख गरेको छ । तेतरी देवीका श्रीमान् शिवनारायण यादव समेतलाई नियन्त्रण लिई बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
शिवनारायण र तेतरी देवीबीच ३० वर्ष अगाडि विवाह भएको थियो । शिवनारायण र तेतरीबाट सन्तान नभएपछि शिवनारायणले दोस्रो विवाह गरेका थिए । तेतरी देवीले नागरिकता बनाउनका लागि पटक÷पटक आग्रह गरे पनि शिव नारायण यादवले कान्छी श्रीमती र छोरा जय किशोर यादवको दवावमा नागरिकता बनाउन आलटाल गर्दै आएको प्रहरीले जनाएको छ । नागरिकता बनाए तेतरी देवीलाई अंश दिनुपर्ने बुझाइका कारण विवाद भएको र विवादकै क्रममा हत्यासम्म हुन पुगेको प्रहरीको अनुमान छ । प्रहरीले शिवनारायणलाई भदौ ३१ गते नै पक्राउ गरेको थियो ।