हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी बन्न मकवानपुरमा दुई हजार सात सय ४५ जनाले आवेदन दिएका छन् । म्यादीका लागि भदौ ३० गतेदेखि असोज ६ गते बिहिबारसम्म आवेदन दिन आह्वान गरिएको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सुरुक्षाका लागि मकवानपुरमा यसपटक करिब एक हजार सात सयको संख्यामा म्यादी प्रहरी आवश्यक पर्ने प्रहरीको अनुमान छ । मकवानपुरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको सुरक्षामा एक हजार चार सय ७२ जना म्यादी प्रहरी खटाइएको थियो ।
म्यादीका लागि आवेदन दिएकाहरुको आइतबारदेखि १४ गतेसम्म छनौट सुरु हुने जनाइएको छ । आइतबारबाट शारीरिक तन्दुरुस्ती, स्वास्थ्यजाँच र अन्तरवार्ता हुने जनाएको छ । यसअघिको निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेकाहरुले भने अन्तरवार्ता मात्र दिए पुग्ने बताइएको छ ।