नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिँदै छ । दशैंपछि तिहार, छठजस्ता अन्य महत्वपूर्ण चाडपर्व आउँदछन् । दशैं, तिहारको समयमा सबैतिर चहलपहल बढ्दे गर्दछ । यस समयमा यात्रा तथा भ्रमण गर्ने, बजारमा किनमेल गर्न जाने मानिसको संख्या अत्यधिक हुने गर्दछ । चाडपर्वलाई विशेष बनाउने क्रममा सामान किनमेलका लागि बजारमा मानिसको भिड नै लाग्ने गर्दछ । दशैं, तिहारको समयमा सबैतिर सक्रियता बढ्दछ । गाउँ शहरमा मानिसको चहलपहल बढ्छ । वस्तु तथा सेवाको खरिदबिक्री पनि बढ्छ । यस्तै, सार्वजनिक यातायातका साधनहरुमा यात्रुको चाप बढ्छ । सबै क्षेत्रमा चहलपहल बढ्ने र सबै क्षेत्र गतिशील हुने भएकाले यो समयमा विभिन्न प्रकारका आपराधिक क्रियाकलाप पनि बढ्ने गरेको छ । हर्षोल्लासपूर्ण वातावरणमा रमाइलो गरी चाडपर्व मनाउन सबै व्यस्त बनिरहँदा आपराधिक मनोवृत्ति भएका मानिसहरुको ध्यान भने अपराधतर्फ नै केन्द्रित भइरहेको हुन्छ । चाडपर्वको अविधिमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनु प्रहरी, प्रशासनका लागि सधैं नै चुनौतीपूर्ण बन्ने गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुने आपराधिक गतिविधिहरुलाई न्यूनीकरण एवम् नियन्त्रणका लागि प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो । आम नागरिकले सुरक्षितरुपमा चाडपर्व मनाउने वातावरण तयार पार्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको हो । प्रहरीको विशेष सुरक्षा योजनामा अन्तर्राष्ट्रिय एवम् प्रदेश प्रवेश गर्ने सीमा नाकामा कुकुरसहित तालिमप्राप्त प्रहरीले चेकजाँचको व्यवस्था गर्ने, क्वीक रेस्पोन्स टिम परिचालन गर्ने, प्रहरी गस्ती बढाउने आदि कार्य समावेश भएका छन् । चाडपर्वको समयमा बढी भिडभाड हुने प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तीय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ ।
चाडपर्वको सामान्य तथा पुरानो विवादमा झैझगडा हुनसक्ने सम्भावना बढी हुन्छ । यस्तै? चाडपर्वको समयमा मदिरा सेवन गर्ने एवम् जुवातास खेल्नेको संख्या पनि उल्लेख्य रहन्छ । यसका लागि प्रहरीले चेकजाँचको व्यवस्था मिलाउँदै बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी राजमार्गमा समेत चौबीसै घण्टा प्रहरी परिचालन गर्ने योजना रहेको छ । दशैं, तिहारको समयमा हुने सुरक्षा संवेदनशीलतालाई लक्षित गरी बागमती प्रदेश प्रहरी कार्यालयले विभिन्न योजना अघि सारेको छ । प्रहरीले चाडपर्वको समयमा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे आम नागरिकलाई सचेतना पनि दिनुपर्ने हुन्छ ।
चाडपर्वको आफ्नै धार्मिक, सांस्कृतिक एवम् सामाजिक महत्व छ । चाडपर्वले हाम्रो धर्म, संस्कृति, रितिरिवाज, परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भए पनि यस समयमा अनेकौं विकृति र आपराधिक गतिविधि बढ्ने निश्चित छ । यस्तो बेलामा आम नागरिकको सुरक्षाका लागि स्थानीय प्रशासन गम्भीर बन्नु आवश्यक छ । साथै, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था तथा नागरिक समाजले पनि निगरानी राख्नु र दबाब दिनु आवश्यक छ । चाडबाडमा अपराधजन्य क्रियाकलाप र विकृति बढ्ने गर्दछन् । सुरक्षा व्यवस्था जति प्रभावकारी बनाउन सकियो, चाडपर्व त्यति सहज र व्यवस्थित हुने निश्चित छ । चाडपर्वको मौसमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयले लागू गरेको विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।