कार्यक्रममा बोल्नुहुँदै तथ्याङ्क कार्यालय मकवानपुरका अधिकृत राजेश दास ।

हेटौंडाः नेपालमा अहिले ६० हजारभन्दा बढी उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको पाइएको छ । बुधबार हेटौंडामा तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को प्रदेशस्तरीय नतिजाअनुसार अहिले देशभर ६० हजार १ सय ६५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको पाइएको हो ।

सञ्चालनमा रहेका उद्योगहरुमा देशभर ४ लाख ९१ हजार २ सय २७ जना कामदारहरु प्रतिष्ठानहरुमा संलग्न रहेका छन् । जसमा बामगती प्रदेशका १ लाख ५९ हजार ७ सय ४६ जना प्रतिष्ठानमा आवद्ध रहेको तथ्याङ्कमा उल्लेख छ । प्रतिष्ठानमा संलग्नमध्ये ३ लाख ८१ हजार ६ सय ८७ जनामात्रै तलबी कामदार रहेको सर्वेक्षणमा देखाइएको छ ।

त्यीमध्ये खानी तथा उत्पादन क्षेत्रमा ५ हजार ७ सय १९ जना खानी तथा उत्खनन् क्षेत्रमा, ३ लाख ४६ हजार १ सय ४३ जना औद्योगिक उत्पादन क्षेत्रमा, विद्युत् ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २ सय २३ जना र पानीको आपूर्ति, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा १२ हजार ५ सय ८७ जना तलबी कामदार रहेको जनाइएको छ ।

कोभिड–१९ को माहामारीको समयमा सरकारले गरेको ४ महिना लकडाउनको अवधिमा नेपालमा सञ्चालनमा रहेका करिब ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । यस समयमा उद्योगमा कार्यरत १७ प्रतिशत कामदारहरुले बिना सुविधा स्थायीरुपमा आफूले गरिरहेको काम छाड्नुपरेको, ६० प्रतिशत कर्मचारीले बिना तलब–सुविधा अस्थायीरुपमा अलग भएको देखिएको सर्वेक्षणले देखाएको छ । औद्योगिक क्षेत्रबाट देरभरमा करिब ८ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरी करिब १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेको सर्वेक्षणमा देखाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक राजेश धितालको अध्यक्षता तथा बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तथ्याङ्क कार्यालय मकवानपुरका अधिकृत रोजश दासको आतिथ्य रहेको थियो ।