गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशभित्र विभिन्न घटनामा मंगलबार ५ जनाको मृत्यु भएको छ । नुवाकोट, धादिङ, काभ्रे र चितवन गरी ४ जिल्लामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–७, महादेवफाँटमा गल्छी–त्रिशुली सडक खण्डमा महादेवफाँटबाट गल्छीतर्फ जाँदै गरेको बा ३ ख १६४ नम्बरको आइचर गाडीले बिहान बा २० च ९४४२ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकको मृत्यु भएको छ । सडक छेउमा रोकी राखेको कारबाट पर्स निकाल्ने क्रममा गाडीले ठक्कर दिएपछि सोही स्थानका कार चालक ५० वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा सवार स्थानीय ४५ वर्षीय राजेन्द्र राई घाइते भएका छन् । घटनास्थलमा आईचर गाडी पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, चिम्बाङमा ताल्ली खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानमा बस्ने ४० वर्षीय मुसा चेपाङ छन् । ताल्ती खोलाको जलविद्युत् आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार नै काभे्रको मण्डनदेउपुर नगरपालिका–२ का ३२ वर्षीय राजेश तामाङको तिते खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यस्तै, चितवनमा २ जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२, बालकुमारी रोडमा नाम नखुलेका मागेर हिँड्ने अन्दाजी ३१ वर्षीया महिला मृत अवस्थामा फेला परेकी थिइन् । यस्तै, भरतपुर–१८, डाँडागाउँका ४६ वर्षीय नथुराम मैनाली आफ्नै घरको बन्द कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।