कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकायको नवनिर्मित भवन ।

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवन तयार भएर डीनको कार्यालय र शैक्षिक क्रियाकलाप आफ्नै भवनमा सञ्चालन भएको छ । स्वामित्वको विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला हेटौंडा–१० मा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको वन संकायको शैक्षिक भवन तयार भएको हो ।

आफ्नै भवनमा प्रशासनिक एवम् शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको वन संकायले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको हेटौंडास्थित क्याम्पस प्रशासनलाई यसअघि भोगचलन गर्दै आएको भवन मंगलबार फिर्ता गरेको छ । भवनको चाबी फिर्ता गर्ने भनिए पनि त्रिभूवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान क्याम्पसका अधिकारी भने चाबी बुझ्न उपस्थित भएनन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन संकायका डीन डा. बलराम भट्ट ।

त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनस्थित कृषि क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान परिसरमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्ने भनी कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ जारी भए पनि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच स्वामित्वको विवाद जारी छ । १० करोड १३ लाख रुपैयाँ लागतमा ५ तल्ले शैक्षिक भवनमा २० वटा कोठा छन् ।

वन संकायका डीन डा. बलराम भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । करिब ५ करोड लागत अनुमानसहित प्रशासनिक भवनको विस्तृत परियोजना प्रतिवेदन तयार रहेको जानकारी गराउनुहुँदै डीन डा. भट्टले भन्नुभयो, ‘आगामी दिनमा हेटौंडा उपमहानगरलाई महानगर घोषणा गर्न एउटा विश्वविद्यालय समेत आवश्यक हुन्छ । त्यसका लागि हेटौंडा उपमहानगरपालिकाले वन विज्ञान संकायलाई नै विश्वविद्यालयको रुपमा विकास गर्नेतर्फ ध्यान दिनुपर्छ ।’