पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डे ।

हेटौंडाः हेटौंडा बजारको सडक राष्ट्रिय योजनाबाट हट्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभएको छ । हेटौंडा बजारको सडक ५० मिटरबाट हटाएर १६–१६ मिटर बनाउने निर्णय भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीमा बजारको सडकलाई राष्ट्रिय योेजनाबाट हटाउने र चुरीयामाईबाट राप्ती किनार हँदै बाइपासको सडक निमार्ण गर्ने निर्णय भएको बताउनुभएको हो । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले आफु हुँदै चितवन र हेटौंडाको सडकको राष्ट्रिय योजना आएकोमा चितवनको सडक निर्माण कार्य भईरहेको बताउनुभयो । हेटौंडाको सडक निर्माण कार्य लिखित नभएकोले अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो ।

यस्तै, मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडा बजार क्षेत्रको सडक बिस्तारको लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले ज्ञापन पत्र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई बुझाउनुभएको हो । शहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी बैकल्पिक मार्ग निर्माण गरी उक्त मार्गलाई राष्ट्रिय राजमार्ग बनाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । रातोमाटेदेखि चौकीटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मको सडकलाई नेपाल सरकारले शहरी मार्ग कायम गर्नुपर्ने, माग निर्णय भएमा घरजग्गा धनीहरुले आफ्नै खर्चमा सडकको मध्यभागबाट १६ मिटरले हुने स्थानसम्म घरटहरा भत्काई क्षतिपूर्ति समेत नलिने र सरकारलाई साथ र सहयोग गर्ने ज्ञापन पत्रमा जनाइएको छ ।