हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मासिक २० लाख रुपैयाँभन्दा बढी सटर भाडा उठाउँदै आएको छ । उपमहानगरपालिकाको ४ सय ६ वटा सटरको मासिक २० लाख ६३ हजार ५ सय १६ रुपैयाँ आम्दानी हुने गरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभएको छ ।
उपमहानगरपालिकाले तरकारी बिक्री वितरण भइरहेको एक सय सटरबाट मासिक २ लाख ५२ हजार ९ सय ९० रुपैयाँ संकलन गर्दै आएको छ । माछामासु बिक्री गर्ने ८६ वटा सटरबाट मासिक ५ लाख ९२ हजार ३ सय ७० रुपैयाँ उठाउँदै आएको छ । बजार क्षेत्रमा भएका ६५ वटा सटरबाट २ लाख ७९ हजार ५ रुपैयाँ, हङकङ बजारमा रहेका ४८ वटा सटरबाट १ लाख १२ हजार ५ सय ३० रुपैयाँ, वासुदेव मार्गमा रहेको २० वटा सटरबाट १ लाख ३७ हजार ८६ रुपैयाँ उठाउने गरेकोे छ ।
यस्तै, पुरानो २० कोठे भवनबाट ८४ हजार ३ सय ९० रुपैयाँ, प्रतिक्षालय अगाडिका ८ वटा सटरबाट ३५ हजार २ सय ७५ रुपैयाँ, वडा कार्यालय भवन मुनिका ९ वटा सटरबाट ५७ हजार ८ सय ३० रुपैयाँ, सुमो काउन्टर आसपासका १२ वटा सटरबाट ६९ हजार ४ सय १५ रुपैयाँ, ७ वटा घुम्तीबाट ४३ हजार ४ सय ५५ रुपैयाँ र अन्य ४० वटा सटरबाट मासिक ३ लाख ९९ सय हजार १ सय ७० रुपैयाँ संकलन गर्ने गरेको छ । हेटौंडा उपहमहानगरपालिकाको सटरबाट मात्रै वार्षिक आम्दानी २ करोड ४७ लाख ६२ हजार १ सय ९० रुपैयाँ संकलन गर्ने गरेको छ ।