हेटौंडाः मकवानपुर प्रहरीले अनलाइन ठगी गर्ने एक जनालाई हेटौंडामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला घर भई हाल काठमाडौं बानेश्वर डेरा गरी बस्ने १८ वर्षीय सिद्धान्त जैसवाल रहेको प्रहरीले जनाएको छ ।
गत बिहीबार साँझ ६ बजेको समयमा जैसवालले अँग्रेजी अक्षरमा कमला दाहालको नामको फेसबुक आइडीबाट दीर्घबहादुर लामासँग ८ हजार रुपैयाँ ठगी गरेका थिए । ठगीमा परेका लामाले आफूसँग ८ हजार रुपैयाँ मागी ठगी गरेको हुँदा जैसवाललाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदनका दिएका थिए ।
जैसवाललाई निरन्तर विद्युतीय टेक्नोलोजीको प्रयोग गरी खोजतलास गर्दै गरेको अवस्थामा बुधबार साँझ ५ बजेको समयमा हेटौंडा–१०, बसपार्कस्थित सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाइएको छ । जैसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।