हेटौंडाः हेटौंडामा सोमबार संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया भएको छ । संघीय शासन प्रणाली सबलीकरण अन्तरक्रिया समितिका संयोजक खिमलाल देवकोटाको सभाध्यक्ष तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले सरकारले पारदर्शी ढङ्गबाट काम नगर्दा जनस्तरमा संघीय व्यवस्थामाथि अहिले प्रश्न उठिरहेको बताउनुभयो । उहाँले तीन तहका सरकारले आम नागरिकले सुशासन पाए कि पाएनन् भन्ने सोचेर काम गर्नुपर्ने बताउनुभयो । सरकारले जनहितको विकास र सुशासनको लागि विशेष ऐन ल्याएर काम गनुपर्ने उहाँको भनाई छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केन्द्रीय सरकारले प्रदेश सरकारलाई काम गर्र्न पूर्ण अधिकार नदिँदा अहिले संघीयतामाथि प्रश्न उठिरहेको बताउनुभयो । उहाँले अहिले कुल बजेटको ७६ प्रतिशत संघीय सरकारले खर्च गर्ने र बााकी बजेट प्रदेश र स्थानीय सरकारले खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यो अन्त्य गर्नुपर्ने बताउनुभयो । मुलुकमा संघीयता लागू भएर काम गरेको केही समयमात्र भएकाले अहिले संघीयतामाथि प्रश्न उठाउनुपर्ने औचित्य नै नरहेको उहाँले बताउनुभयो । अहिले प्रदेश सरकारले नीति बनाएर काम गर्न थालेको र अवस्था बदल्नतर्फ लागेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । बागमती प्रदेश सरकारले हेटौंडामा २ लाख मेट्रिक टन मल उत्पादन गर्ने मल कारखाना निर्माण गर्ने, चेपाङ, वनकरिया जातिको घर निर्माण गर्ने योजना अघि सारेको उहाँले जानकारी दिनुभयो ।
अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरु, योजना आयोगका पदाधिकारीहरु, मुख्य न्यायाधीवक्ता, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र निजी क्षेत्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।











