गुगल फोटो ।

हेटौंडाः मकवानपुरको भिमफेदीबाट प्रहरीले तीन क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले छुट्टा छुट्टै स्थानमा २ वटा ट्रकबाट ३ सय ३० केजी ३७ ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेकोे छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान साढे ३ बजेको समयमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–९ महभिर बस्ने ३५ वर्षीय प्रकाश लामा रहेको छ । नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३९८७ नम्बरको आईचर ट्रकलाई सुरक्षाजाँच गर्ने क्रममा २ सय ५६ किलो २८ ग्राम लागुऔषध गाँजासहित ट्रक चालक लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय भिमफेदीबाटै खटिएको प्रहरीले ना ८ ख २७१८ नम्बरको आईचर ट्रकबाट ७४ केजी ९ ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । उक्त लागुऔषध गाँजा र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको लागुऔषध गाँजा र ट्रकसहित लामाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।