सचिव र कार्यकारी उपाध्यक्षबीच कार्यसम्पादन सम्झौता आदानप्रदान गरिँदै ।

हेटौंडाः बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयका सचिव र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्षबीच आर्थिक वर्ष २०७९/८० को कार्य सम्पादन सम्झौता भएको छ । मंगलबार मन्त्रालयका सचिव ध्रुव गैंडा र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बीच कार्यसम्पादन सम्झौता भएको हो ।

प्रदेश सरकारको कार्यलाई पारदर्शी, जवाफदेही, नतिजामुखी एवम् उपलब्धीमा आधारित बनाउने जिम्मेवारीप्रति सम्झौता भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो । प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमको समय कार्य सम्पादनको स्तर बढाउन र कार्य सम्पादनको आन्तरिक क्षमता सुदृढ गर्न कार्य सम्पादन सूचक र कार्य शर्तका आधारमा कार्यसम्पादन सम्झौता गरिएको चौलागाईंले बताउनुभयो ।

सम्झौतामा युवा नेतृत्व क्षमता विकासका कार्यहरु गर्ने कार्यक्रम अन्तर्गत युवा क्लब गठन हुने, नमुना युवा संसद सञ्चालन गर्ने र युवा संजाल गठन हुने भएको छ । यस्तै युवा परामर्श र मार्गदर्शनका कार्य गर्ने अन्तर्गत कुलतमा फसेका युवालाई परामर्श कार्यक्रम सञ्चालन गरिने, चेलिबेटी बेचबिखन र महिला हिंसाको सचेतना गरिने भएको छ । युवा उद्यमशीलता विकास गर्ने कार्यक्रम अन्तर्गत प्रदेशका ५ पकेट क्षेत्र निर्माण गरिने र सो पकेट क्षेत्रमा युवाहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिने भएको छ । विज्ञान प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्धनका कार्यमा प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत युवा वैज्ञानिकहरुलाई पुरस्कृत र प्रोत्साहन गरिने, युवा महोत्सव र युवा दिवसहरु मनाउने भएको छ ।

युवा र स्वास्थ्यको सवालमा कार्यक्रम सञ्चालन गर्ने अन्तर्गत महिला आत्मरक्षाको कार्यक्रम, लागुपदार्थ दुव्र्यसनीहरुको पहिचान र कारणबारे सचेतना जगाउने भएको छ । यस्तै युवा र सामाजिक सुरक्षाका लागि उद्यमशीलता कार्य गर्ने, युवामैत्री स्थानीय तह घोषणा गरिने, विशिष्ट युवा प्रतिभा पहिचान गर्ने, अनुभव आदानप्रदान, द्वन्द्व पीडित, बेपत्ता, घाइते तथा अपाङ्ग भएका युवाहरु लक्षित कार्यक्रम र कार्यालय तथा जिल्ला युवा समितिको दैनिक प्रशासन, कर्मचारी नियमितता लगायत कार्यक्रम गर्र्ने सम्झौता भएको छ । सम्झौताको कार्यविधि २०७९ साल साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको रहने जनाइएको छ ।