हेटौंडाः बागमती प्रदेश विपद व्यवस्थापन केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार सुमन रायमाझी बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले रायमाझीको कार्य मूल्याङ्कन गर्दै साउन महिलाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक रेग्मीले जानकारी दिनुभयो ।

रायमाझीले सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई कार्य गरेको प्रदेश प्रहरीले ठहर गरेको छ । आत्महत्या गर्ने प्रयासले चितवनको नारायणी पुलबाट नदीमा हामफालेको व्यक्तिलाई जिवितै उद्दार गर्न सफल भएकोले रायमाझीलाई उत्कृष्ट प्रहरी घोषित गरिएको विवरणमा उल्लेख छ ।

बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा घटेका विभिन्न प्रकारका विपदका घटनाहरुमा सक्रियताका साथ परिचालित भई उद्दार कार्यहरुमा उत्कृष्ट कार्यसम्पादन गरेको हुँदा रायमाझीबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले हस्ताक्षर गर्नुभई रायमाझीलाई उत्कृष्ट प्रहरीको सम्मानपत्र प्रदान गरिएको छ ।