सडकमा कष्टकर जीवनयापन गरिरहेका असहाय मानवको सेवामा समर्पित मानवसेवा आश्रम सामाजिक अभियानको एउटा उत्कृष्ट उदाहरण हो । मानवसेवा आश्रम एक दशकदेखि सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्दै आएका असहाय, अशक्त, अनाथ, अपाङ्ग एवम् मनोरोगीको सेवामा समर्पित भइरहेको छ । सहयोगी हातहरुको सहयोग र दाताहरुको निस्वार्थ सहयोगबाट आश्रमले आफ्ना गतिविधि सञ्चालन र विस्तार गरिरहेको छ । असल नागरिक निर्माण र मानवता प्रवद्र्धन गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले देशका विभिन्न भागमा आफ्नो कार्यालय तथा आश्रम स्थापना गरेर काम गरिरहेको छ । देशलाई नै सडक तथा सहयोगापेक्षी मानवमुक्त बनाउने उद्देश्यका साथ संघ, प्रदेश र स्थानीय सरकारसमेतको सहयोग र सहभागितामा मानवसेवा आश्रम अघि बढिरहेको छ । यसले विभिन्न जिल्ला तथा प्रदेशलाई सहयोगापेक्षी सडकमानवमुक्त घोषणा गर्दै देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ ।

मानवसेवा आश्रमले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको खुशीयालीमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । सहयोगापेक्षी सडक मानवको उद्दार, संरक्षण र पारिवारिक पुनर्मिलन गराउँदै आएको आश्रमले रक्तदान, वृक्षरोपण, सरसफाई तथा तीज विशेष कार्यक्रम गर्ने भएको छ । यस्तै, सडक आश्रित मानवहरुको उद्दार अभियान, मुठ्ठीदान संकलन, दीप प्रज्वलन र भजन सन्ध्या गरेर स्थापना दिवस मनाउने भएको छ । हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले आगामी मंसिरमा नेपथ्य ब्याण्डको साथमा देशव्यापी सांगीतिक यात्रासमेत गर्ने भएको छ । मानवसेवा आश्रमको अग्रसरतामा वि.सं २०८२ सालमा देशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य निर्धारण गरिएको छ । मानवसेवा आश्रमले हाल देशका विभिन्न १९ वटा जिल्लामा २३ वटा शाखामार्फत् सेवा प्रदान गरिरहेको छ । आश्रममा एक हजार ६ सय जना वृद्धवृद्धा र बालबालिक आश्रित रहेका छन् ।

सबैभन्दा उच्चस्तरको सेवा भनेकै मानवसेवा हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अरुको सेवा गर्नुलाई मानवसेवा भन्न सकिन्छ । हेटौंडाबाट एक दशकअघि सुरु भएको मानवसेवा आश्रमको सहयोगापेक्षी सडक मानवमुक्त बनाउने महाअभियान प्रभावकारी बनिरहेको छ । जोकोहीले यस्ता अभियान सुरु गर्नु ठूलो कुरा नभए पनि अभियानलाई निरन्तरता दिँदै देशव्यापी बनाउनु र सफलतातर्फ उन्मुख हुनुलाई सामान्यरुपमा लिन सकिँदैन । हजारौं आश्रयविहीनलाई आश्रय दिनुका साथै आश्रमले उनीहरुको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ । मनोरोगी भई कष्टकर जीवनयापन गरिरहेकालाई आश्रमले आश्रयका साथै औषधी उपचारसमेत गराइरहेको छ ।

देशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउन आश्रमले उल्लेख्य सफलता पाउँदै गएको छ । एक दशकदेखि खुला आकाशमुनि रात बिताउन बाध्य, घरबारविहीन, बेवारिसे, मनोरोगी, सहाराविहीन व्यक्तिको उद्दार तथा व्यवस्थापनको काम प्रभावकारी बनिरहेको छ । मानवसेवा आश्रमको यो अभियानमा धेरै व्यक्ति तथा संस्थाले सक्दो सहयोग र सहकार्यसमेत गर्दै आएका छन् । तीनै तहका सरकारसमेत मानवता प्रवद्र्धन गर्ने आश्रमको अभियानमा सहयोगी बनिरहेका छन् । जसले गर्दा आश्रमको अभियानका लागि आवश्यक पर्ने साधन स्रोत जुटाउन सहज भइरहेको छ ।