हेटौंडाः मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशील बिर्खे अञ्जानलाई २०७९ सालको युवा बर्ष मोती पुरस्कार समर्पित गर्ने निर्णय युवा सेवा कोषले गरेको छ ।
अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना (कविता संग्रह २०७२), शल्यक्रिया (समालोचना संग्रह २०७२), कठघरामा देश (मुक्तक संग्रह २०७९), मकवानपुरका काव्य ः अवलोकन र अध्ययन (समालोचना संग्र्रह २०७९) एकल कृति प्रकाशित छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सवल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुनुहुन्छ ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएवापत यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ समर्पित गर्न लागिएको कुरा युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी ४० हजार रूपैयाँ रहेको छ । पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कुरा युवा सेवा कोषका सदस्य सचिव डा. बिष्णुबहादुर भण्डारीले बताउनु भयो ।










