साहित्य संगमबारे चर्चा गर्दै साहित्यकारहरु ।

हेटौंडाः स्थापना दिवसको अवसरमा साहित्य संगम मकवानपुरको विषयमा बिहीबार चर्चा गरिएको छ । ३२ औं सन्ध्या दिवसको अवसरमा साहित्य संगम हिजो, आज र भोलि विषयक चर्चा भएको हो । साहित्य संगम मकवानपुरका संस्थापक केशव श्रेष्ठ (ज्योति), संगमका निवर्तमान अध्यक्ष निमेष निखिल, पूर्व अध्यक्ष सुवास खनालले साहित्य संगम हिजो, आज र भोलि विषयमा गर्नुभएको बहसमा सहजकर्ता सानु खनालले सहजीकरण गर्नुभएको थियो ।

स्वतन्त्र रुपमा आफ्ना विचार राख्न साहित्य संगमले विगतमा मञ्च प्रदान गरेको संस्थापक केशव ज्योतिले बताउनुभयो । नियमित आउनुहुने साहित्य अनुरागीहरुका लागि सानो समूह भए पनि महत्वपूर्ण रहने गरेको ज्योतिले स्मरण गर्नुभयो । गुणस्तरीयताको प्रतिस्पर्धा रहने गरेको स्मरण गर्नुहुँदै संस्थापक केशव ज्योतिले साहित्यलाई निस्वार्थ बनाउन नहुने बताउनुभयो । साहित्य संगमका क्रियाकलाप, जनजागरणका अभ्यासलाई हेरेर धेरैले बामपन्थी आन्दोलनको सहयोगीको रुपमा बुझ्ने गरेको केशव ज्योतिको अनुभव छ ।

यसैगरी अर्का वक्ता निमेष निखिलले प्रगतिवादीलाई भन्दा प्रगतिशीलतालाई जोड दिने गरिएको बताउनुभयो । स्वच्छ अभिव्यक्ति विशुद्ध साहित्य गतिविधि सन्चालनमा संगम रहेको उहाँले दावी गर्नुभयो । साहित्य संगमका पूर्वअध्यक्ष समेत रहनुभएका निमेष निखिलले स्थानीय तहले साहित्यकै प्रतिष्ठान निर्माण गर्दै गर्दा राजनीतिक रुपमा साहित्य क्षेत्रमा खाडल निर्माण गर्न नहुनेमा बताउनुभयो । सुरुवाती समयमा बामपन्थी पक्षधरताको आरोप लागे पनि त्यसो नभएको उल्लेख गर्नुहुँदै विधानमा भएका केही शव्दलाई परिमार्जन गरी पछिल्लो समय सबै राजनीतिक आस्थाका व्यक्तिलाई सहभागी हुन सहज महसुस गर्ने प्रयास गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

साहित्य संगमकै पूर्वअध्यक्ष सुवास खनालले बजारमा चर्चा तथा विवाद दुई कुरा हुने बताउनुभयो । जसमा संगम अन्य साहित्यिक संस्थाहरुको तुलनामा बजारमा चर्चा चुलिएको खनालले बताउनुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा संगमका सल्लाहकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । दिवसकै अवसरमा एक वर्षभरि संगमको कार्यक्रमहरुमा नियमित उपस्थिति जनाएको भन्दै बकैयाकी स्वास्तिका दाहाललाई सन्ध्या सम्मान–२०७९ बाट सम्मान गरिएको छ ।