सांकेतिक तस्वीर ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपपालिका–९ खरङ्गामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी जिल्लाको बुलिङटार गाउँपालिकाका ३३ वर्षीय गोपाल सारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

बिहीबार विहान साढे १० बजेको समयमा हेटौंडाबाट नारायणगढ जाँदै गरेको बा ०३–००१ त २४८१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका सारुलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याइएको थियो । उपचारको क्रममा सारुलाई ११ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । बस र मोटरसाइकल नियन्त्रणमा रहेकोे डिएसपी कार्कीले बताउनु भएको छ । बसका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।