हेटौंडाः २८ औं तामाङ प्रसारण दिवसको अवसरमा समृद्ध समाज दैनिककी संवाददाता जमुना थिङलाई सम्मानित गरिएको छ । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आयोजना गरेको “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान” कार्यक्रममा जमुनालाई सम्मान गरिएको हो ।
तामाङ पत्रकार संघले नगद २ हजार ५ सय रुपैयाँ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालले व्यक्तिगत २ हजार ५ सय रुपैयाँ र तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक आदर्श थोकरले व्यक्तिगत नगद ५ सय रुपैयाँ गरी ५ हजार ५ सय रुपैयाँसहित जमुनालाई सम्मान गरिएको छ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित कुमार घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पत्रकारले सबै क्षेत्रको कुरा उत्थान हुने काममा कलम चलाउनुपर्ने बताउनुभयो । मकवानपुरमा तामाङ जातिको बाहुल्यता बढी रहेको बताउनुहुँदै प्रमुख लामाले तामाङ जातिको भाषा, संस्कृतिको विकास गर्न तामाङ संग्राहलयका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले तामाङ पत्रकारका लागि आवश्यक पर्ने सहयोग गर्न आफू सँधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।