एसइइको नतीजा सार्वजनिक भएको तीन साता भयो । एसइइमा उत्तीर्ण विद्यार्थीहरु अहिले उच्च शिक्षा अध्ययनको सिलसिलामा पालिका भित्रै, जिल्लाभित्रै अथवा काठमाडौं, चितवन पुगेर उच्च शिक्षा हासिल गर्ने योजनामा व्यस्त छन् । यस वर्षको एसइइमा अपेक्षाकृत नतीजा हासिल नभए पनि सुधार गर्नुपर्ने पक्षका बारेमा गम्भीरताका साथ ध्यान दिनुपर्छ । एसइइमा उत्कृष्ट नतीजा हासिल गर्ने नवोदय शिशु सदनका प्रिन्स बर्तौला र रेबिका पाख्रिनसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
एसइइको नतिजा थाहा पाउँदाको अनुभव कस्तो रह्यो ?
रेबिकाः एसइइको नतिजा सार्वजनिक हुनुभन्दा अगाडि डर लागेको भए पनि नतिजा हेरिसकेपछि चाहिँ एकदम खुशी लाग्यो । किनकी चित्त बुझ्दो नै रिजल्ट वा चाहेकै जति ३.९० जिपीए आएको रहेछ ।
तपाईको नतिजालाई लिएर तपाई, तपाईको परिवार र विद्यालय परिवार कत्तिको सन्तुष्ट छ ?
रेबिकाः विषयगत रुपमा हेर्दा खासमा मेरो दुई वटा विषयमा आफुले चाहेको नतिजा नआएको हुनाले अलिकति असन्तुष्ट छु । मेरो नतिजालाई लिएर मेरो परिवार एकदम खुशी र सन्तुष्ट छ । अनि विद्यालयमा शिक्षक, शिक्षिका लगायत विद्यालय प्रशासन पनि एकदम सन्तुष्ट छ ।
प्रिन्सः सुरुमा एसइइको नतिजा आउनुभन्दा अगाडि डर लागिरहेको थियो । झन् रिजल्ट प्रकाशित हुने भनेपछि अझ डर बढ्यो । रिजल्ट प्रकाशित भएको बल्ल १ घण्टा जतिपछि रिजल्ट देखायो । रिजल्ट राम्रै र सोचेको भन्दा राम्रो ३।९५ जिपीए आएको रहेछ । मलाई चाहिँ आफ्नो रिजल्टमा विश्वास लागेकै थिएन । किनकी मैले आशा गरेको भन्दा धेरै राम्रो रिजल्ट आएको थियो । समग्रमा भन्नुपर्दा एकदम खुशी लाग्यो ।
तपाईको नतिजालाई लिएर तपाईको अभिभावक र विद्यालय प्रशासन कत्तिको सन्तुष्ट छ ?
प्रिन्सः विद्यालय र परिवार एकदम खुशी र सन्तुष्ट हुनुहुन्छ । किनकी मेरो नतिजा जिल्ला कै राम्रो नतिजा हो । अभिभावकहरु त झन छोराको राम्रो नतिजा देखेर एकदमै खुशी हुनुहुन्छ ।
समग्रमा तपाइको विद्यालयको नतिजा कस्तो रह्यो ?
प्रिन्सः समग्रमा नवोदय स्कुलको नतिजा राम्रै आयो । ११ जनाले ए प्लस, लगभग २७ जनाले ए ल्याए र अरुले समग्रमा राम्रै नतिजा ल्याएका छन् । हामीलाई विद्यालयले शुरुबाट नै सहयोग गरेको हुनाले हामी सबैले राम्रै नतिजा ल्याउन सफल भएको जस्तो मलाई लाग्छ ।
प्रिन्स तपाईको अबको अध्ययन कुन विषय लिएर पढ्ने विचार गर्नभएको छ ?
प्रिन्सः अब म चाहिँ काठमाडौं गएर विज्ञान विषय लिएर पढ्ने विचार गरेको छु ।
रेबिका तपाईले कुन विषय लिएर पढ्ने विचार गर्नुभएको छ ?
रेबिकाः म यही हेटौंडामै व्यवस्थापन संकाय अध्ययन गर्ने सोच बनाएकी छु ।
एसइइ सकेपछिको विदामा तपाई केकस्ता गतिविधिमा व्यस्त रहनुभयो ?
रेबिकाः एसइइको परीक्षा दिइसकेपछि मैले ३ महिने एड्भान्स अफिस कम्प्युटर प्याकेज पढेँ । म भविष्यमा बैंकर बन्न चाहान्छु । त्यसकारण मैले अहिलेदेखि नै तयारीमा लाग्दै छु । त्यसपछि मैले कथा, कविता लगायतका अतिरिक्त पुस्तकअहरु पनि पढे ।
अब नयाँ कलेजमा जानका लागि कत्तिको आतुर हुनुहुन्छ ?
रेबिकाः स्कुलको अन्तिम दिन र कलेजको पहिलो दिन कहिले पनि राम्रो हुन्छ जस्तो मलाई लाग्दैन । किनकी स्कुलको साथीहरु छुटेको अनि एक्लै नयाँ कलेज जाँदा पुराना साथीहरुको एकदम धेरै याद आउँछ ।
समग्रमा तपाईको साथीहरुले कस्तो कस्तो विषय अध्ययन गर्ने सोच बनाउनुभएको छ ?
रेबिकाः मेरो धेरैजसो साथीहरुले विज्ञान संकाय नै अध्ययन गर्ने भएको छ । कोही नर्सिङ, कोही प्राविधिक धारतर्फ भने कोही म जस्तै व्यवस्थापन संकाय नै अध्ययन गर्ने भएको छ ।
विषय छान्ने कुरामा तपाईको अभिभावक, आफन्त र शिक्षकहरुले कस्तो सल्लाह दिनुभयो ?
रेबिकाः पहिले त म आफैले आफुलाई मनपर्ने, र आफुले इच्छ्याएको विषय पढ्ने निर्णय गरे । अनि यो निर्णय मैले बाबा, आमा लगायत शिक्षकहरुलाई सुनाएँ । उहाँहरुले मेरो निर्णयमा समर्थन गर्नुभयो ।
तपाईले एसइइको परीक्षाको तयारी कसरी गर्नुभयो ?
प्रिन्सः हामीले शुरुमा कोरोनाको कारणले भएको लकडाउनले गर्दा पढाइ धेरै खस्किसकेको थियो । लगभग दशैं अगाडिसम्म मेरो पढाई एकदम कमजोर भइसकेको थियो । त्यसपछि दशैं, तिहार लगायत चाडपर्वको विदालाई भरपुर सदुपयोग गरी आफ्नो पढाईलाई अगाडि बढाए । त्यसपछि भएको आन्तरिक परीक्षामा राम्रो नतिजा ल्याउन सके । त्यसपछि ग¥यो भने सकिँदो रहेछ भनेर दिन–दिनै मिहिनेत गर्न थाले । र रिजल्ट पनि राम्रै ल्याउन सके ।
एसइइको तयारीको बेलामा परिवार, विद्यालय र शिक्षकहरुको सहयोग कस्तो रह्यो ?
प्रिन्सः शिक्षकहरुले हामीलाई धेरै हौसला प्रदान गरिदिनुभएको थियो । हामीलाई जतिबेला समस्या परेपनि शिक्षकहरु सहयोग गर्न तमतयार भएर बसिदिनुभयो । साथै यतिबेला सबभन्दा महत्वपूर्ण भुमिका अभिभावक तथा परिवार केै हुन्छ । अभिभावकहरुले पनि सधै हौसला दिने गर्नुहुन्थ्यो ।
अबको उच्च शिक्षा अध्ययनका लागि कस्तो तयारी छ र कसरी अगाडि बढ्ने भन्ने कुरामा कस्तो योजना छ ?
रेबिकाः मेरो पहिलो योजना भनेको एसइइमा जस्तै आउँदो कक्षाहरुमा राम्रो नतिजा ल्याएर उत्तीर्ण गर्ने रहेको छ । अब आउँदो कक्षाहरुमा पनि एसइइमा जस्तै मिहिनेत गरेर एसइइमा भन्दा सकेसम्म राम्रो नतिजा ल्याएर पास हुने योजना रहेको छ ।
अब अगामी वर्ष एसइइ दिने साथीहरुलाई कस्तो सल्लाह दिन चाहानुहुन्छ ?
प्रिन्सः अगामी एसइइको तयारी गरिरहनुभएको सम्पूर्णलाई शुभकामना दिन चाहान्छु । शुरुदेखि नै राम्रो तयारी गर्दै जानु पनि भन्न चाहान्छु किनकी पछि एकैचोटी धेरै भार पर्दैन । मिहिनेत गर्न नछोड्नु, दिनदिनै तयारीलाई अगाडि बढाउनु, साथीहरुसँग छलफल गर्दै पढ्नु, आवश्यकता अनुसार शिक्षकहरुसँग सल्लाह लिनु यति नै भन्न चाहे ।