हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा सजाय काटिरहेका कैदीबन्दी आयमूलक काममा लाग्दै आएका छन् । भीमफेदी कारागारमा अहिले सजाय काटिरहेका सबैजसो कैदीबन्दीहरु आयमूलक काममा संलग्न रहेको कारागार जेलर शाखा अधिकृत मदन लामा थिङले जानकारी दिनुभयो ।
कारागारभित्रै बाहिरी सम्पर्कका आधारमा कैदीबन्दीले आयमूलक काम गर्दै आएका छन् । भीमफेदी कारागारमा रहेका कैदीबन्दीले अहिले सबैभन्दा बढी गलैंचा बुन्ने काम गर्दै आएको लामाले बताउनुभयो । कोभिड–१९ फैलिनुभन्दा अगाडि मुढा बनाउने, ढाका टोपी बनाउने जस्ता काम गर्दै आए पनि अहिले त्यसको माग घटेपछि उत्पादन कम भएको लामाले बताउनुभयो । यसअघि भीमफेदी कारागारका कैदीबन्दीले बनाएका मुढाहरु चाइनालगायत अन्य बाहिरी देशहरुमा पनि निर्यात हुने गर्दथ्यो ।
भीमफेदी कारागारमा सम्पर्कका आधारमा कैदीबन्दीले गलैंचा बुन्दै आएका छन् । गलैंचा आफैं बुन्ने र प्राप्त रकम आफैंले राख्ने गरेका छन् । काम गर्दा कैदीबन्दी व्यस्त हुने र आम्दानी पनि हुने गरेको छ । कारागारका कैदीबन्दी काममा संलग्न भइरहँदा उनीहरू र कारागार दुबैका लागि राम्रो हुने लामाले बताउनुभयो । कैदीबन्दी काममा संलग्न हुँदा उनीहरूसँग खाली समय नहुने र झैझगडाजस्ता अन्य क्रियाकलाप हुने सम्भावना कम हुने लामाले बताउनुभयो ।
भीमफेदी कारागारमा मंगलबार ९ सय ९० जना कैदीबन्दीले सजाय काटिरहेका छन् । जसमा सबैभन्दा बढी लागूऔषध मुद्दा र जबरजस्ती करणी मुद्दाका कैदीबन्दी रहेका छन् । कैदीबन्दी सबैजना पुरुष रहेका छन् । अहिले कारागारमा कैदीबन्दी व्यवस्थापन गर्न २५ जना कैदीबन्दी बराबर एकजना नाइके राखिएको छ । भीमफेदी कारागारका कैदीबन्दीहरुको उपचार कारागार प्रशासनले सरकारी अस्पतालमा गर्दै आएको छ । निजी अस्पतालमा उपचार गर्न चाहेमा उपचार खर्च कैदीबन्दी आफैंले तिर्नुपर्ने जनाइएको छ । मंगलबारबाहेक आफन्तले आफ्ना कैदीबन्दीहरुलाई भेट्न पाउने जनाइएको छ ।
भीमफेदी कारागारमा अन्य कारागारबाट कैदीबन्दीहरु सरुवा भएर आउने गरेको लामाले बताउनुभयो । अन्य कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएमा कारागार व्यवस्था विभागले सरुवा गरी भीमफेदी कारागारमा पठाइने गरेको उहाँले बताउनुभयो । गतहप्ता चितवन जिल्लाबाट ४६ जना कैदीबन्दी र केही महिनाअगाडि काठमाडौंबाट ९० कैदीबन्दी भीमफेदी कारागारमा सरुवा भएर आएका थिए । भीमफेदी कारागार १ हजार १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता छ । अहिलेसम्म कारागारमा कैदीबन्दी सजिलै अटेको उहाँले बताउनुभयो ।
यसअघि कोभिड–१९ महामारीको समयमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीहरुमा एकैपटक ठूलो संख्यामा कोरोना भाइरस संक्रमण देखा पर्दा केही समस्या भएको उहाँले बताउनुभयो । फेरि कोरोना महामारी वा अन्य महामारी फैलिएमा समस्या हुनसक्ने लामाको भनाई छ । कारागारमा अझै केही कैदीबन्दी अट्नसक्ने क्षमता रहेको लामाले बताउनुभयो । भीमफेदी कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ ।