हेटौंडाः हेटौंडामा शुक्रबार सामाजिक विकृती र विसंगती विरुद्ध खेलाडीसँग प्रशिक्षण तथा जनचेतनामुलक अन्तरक्रिया भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० बसपार्कको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा बोल्नुहुँदै सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलले समाजमा हुने विकृती र विसंगती हटाउन खेलाडीहरुको माध्यमबाट सकिने बताउनुभयो । उहाँले खेलाडीहरु स्वस्थ, धैर्यशिल हुने भएकाले निर्णय लिनु अगाडी सोचेर सही निर्णय लिने हुनाले यसको न्युनीकरण हुने बताउनुभयो । खेलमा खेलाडी जोडिएपछि सामाजिक विकृती र विसंगतीहरु कम हुने उहाँको भनाई छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले लागुऔषध दुर्व्यसनमा पर्नुका कारण र दुर्व्यसनबाट बच्ने उपायहरुको बारेमा खेलाडीलाई जानकारी गराउनुभयो । उहाँले लागुऔषध सेवन गर्नेहरुको देखासिकि गर्दा, आफ्नो उद्देश्यमा असफल नभई निराश हुँदा यूवाहरु लागुऔषध दुर्व्यसन तर्फ अग्रसर हुने बताउनुभयो । घरपरिवारका अग्रजहरुले लागुऔषध सेवन गरेको छ भने पनि आफ्ना बालबालिकाले लागुऔषध सेवन गर्न सक्ने उहाँले बताउनुभयो । उहाँले यसलाई न्युनीकरण गर्न अभिभावक जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले योग, ध्यान वा कुनै क्रियाकलापमा आवद्ध भएमा लागुऔषध दुर्व्यसन न्युनीकरण हुने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख राजन दाहाल लगायतको आतिथ्यता रहेको थियो । अन्तरक्रियामा १ सय ४५ जना विभिन्न विधाका खेलका खेलाडीहरुको सहभागिता रहेको थियो ।