हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा हेटौंडा उपमहानगरपालिका भित्रका ५४ वटा पसल व्यवसायको आज बुधबार अनुगमन गरिएको छ । अनुगमनको क्रममा हेटौंडा उपमहानगरपालिका भित्र मापदण्ड विपरित संचालनमा रहेका ५ वटा पसल÷व्यवसायलाई कारबाही स्वरुप तत्काल जरिवाना गरिएको छ ।
आज बुधबार होटल, स्वीट्स एवम् फास्टफुड पसल ११ वटा, अस्पताल तथा स्वास्थ्य संस्था ६ वटा सुपरमार्केट तथा गोदाम घर २ वटा, हार्डवेयर पसल १० वटा, फेन्सी पसल ९ वटाको अनुगमन गरिएको छ । यस्तै, मोबाइल पसल एउटा, मासु पसल ६ वटा, डेरी पसल एउटा, भटेनरी औषधी पसल ३ वटा र चल्ला तथा दाना पसल ५ वटाको अनुगमन गरिएको छ । अनुगमनबाट ५ वटा पसल व्यवसायलाई तत्काल जरिवाना गरिएको छ । आँगन स्वीट्स एवम् फास्टफुडलाई २० हजार रुपैयाँ, राजधानी स्वीट्सलाई २० हजार रुपैयाँ, अल्फा डेन्टललाई ५ हजार रुपैयाँ, इटीसी जनरल सप्लायर्सलाई १५ हजार रुपैयाँ, न्यू यू एण्ड आई सु–सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, अनुगमन टोलीले एउटा पोलिक्लिनिक, एउटा भेटेरीनरी औषधी पसल र एउटा डेन्टल अनुमति बिना संचालन गरिएको भन्दै बन्द गरेको छ ।
त्यसैगरी, २ वटा अस्पतालले अनुमतिभन्दा बढी क्षमताको बेड संचालन गरेको भन्दै अनुमति लिन निर्देशन दिएको छ । होटल व्यवसायमा सरसफाई नभएको अखाद्य तेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेकोले तत्काल सुधार गर्न सचेत गराएको छ । यस्तै, दर्ता तथा अनुमति नलिएका व्यवसायलाई एक हप्ताभित्र दर्ता तथा अनुमतिको प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामग्रीहरु नियन्त्रणमा लिई नष्ट गरेको छ भने भाटभटेनी सुपरमार्केटबाट परिक्षणका लागि २ वटा खाने तेलको नमूना लिईएको छ । त्यसैगरी, शिवशक्ति सप्लायर्सको १ सय १२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि विक्रि वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा जिल्ला स्थित विषयगत कार्यालय, हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मंच र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको सहभागितामा ५ वटा अनुगमन टोली मार्फत् हेटौंडा उपमहानगरपालिका भित्रका पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।