पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ।

हेटौंडाः नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने बताउनुभएको छ । आज बुधबार हेटौंडामा प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले पार्टीले अहिले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा कसरी पहिलो बामपन्थी पार्टी बनाउने भन्ने विषयमा छलफल गरिरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय पोलिट व्युरो सदस्यसमेत रहनु भएको मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन गर्दा पार्टीमा क्षति नपुग्ने गरी गर्ने स्पष्ट पार्नुभयो । गठबन्धनलाई कायम गर्ने कुरामा पनि पार्टीले छलफल गरिरहेको उहाँले बताउनुभयो । माओवादी केन्द्र पदका लागि गठबन्धन नगर्ने उहाँको भनाई छ । उहाँले संविधानको प्रस्तावनामा जनताको मौलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको दाबी गर्नुभयो । उहाँले निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगायतको आतिथ्यता रहेको थियो ।