हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनहरु (अटो/मयूरी) मा अहिले ट्राफिक प्रहरीले धमाधम स्टीकर टाँस्ने कार्यलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बिहीबारदेखि सुरु गरेको स्टीकर टाँस्ने अभियानअन्तर्गत् मंगलबारसम्म ५ सय ५६ वटा तीनपाङ्ग्रे सवारी साधनमा स्टीकर टाँसिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको अग्रसरता र अटो/मयूूरी व्यवसायी संघको सहमतिमा बिहीबारबाट स्टीकर टाँस्ने कार्य सुरु भएको हो । स्टीकर टाँस्ने सहमति भएसँगै स्टीकर टाँसेको सवारी साधनमात्र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउने भएको छ । स्टीकर नटाँसेका र मापदण्ड नपुगेका तीनपाङ्ग्रे सवारी साधन उपमहानगरपालिका क्षेत्रभन्दा बाहिर चलाउनुपर्ने भएको छ । अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विलबुक, जाँचपास, परमिट २०७६ पुस ७ गतेभन्दा अगाडि भएको तीनपाङ्ग्रे सवारीमा स्टीकर टाँस्ने कार्य गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार २०७६ पुस ७ भन्दा पछाडि दर्ता भएका तीनपाङ्ग्रे सवारी साधन हेटौंडामा चलाउन पाइनेछैन ।
यस्तै, लाइसेन्स नदोहोरिएको, प्रतिलिपि आएका बारा, पर्सा र चितवनलाई पनि २०७६ पुसभन्दा पछि आएमा रोक लगाइने भएको छ भने आइडी कार्ड संघ तथा प्रालिबाट व्यवस्थापन गर्नुपर्ने जनाइएको छ । मापदण्ड नपुगेको र स्टीकर नटाँसेको पाइएमा अटो/मयूरीलाई नियन्त्रणमा लिई ट्राफिक नियमअनुसार कारबाही गरिने उहाँले बताउनुभयो । अत्याधिक मात्रामा अटो/मयूरी चल्दा हेटौंडा बजार क्षेत्रमा सवारी चाप बढ्दै गएको र ट्राफिक व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । यसलाई न्यूनीकरण गर्न हेटौंडामा चल्न पाउने अनुमतिपत्र प्राप्त तीनपाङ्ग्रे सवारी साधनमा स्टीकर टाँस्ने कार्यलाई तीव्र पारेको प्रमुख थापाले बताउनुभयो । अहिले हेटौंडामा अनुमति प्राप्त नगरेका तीनपाङ्ग्रे सवारी हजारौंको संख्यामा चल्ने गरेको उहाँले बताउनुभयो ।
सवारी साधनको भिडभाड कम गर्ने उद्देश्यले स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको र यसले हेटौंडा बजारको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । अहिले वर्षायाममा मानिसहरुको कम आवतजावत भएसँगै अटो/मयूरी कम चलिरहे पनि केही समयपछि ह्वात्तै बढ्ने उहाँको भनाई छ ।