हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सबै ग्राहकलाई न्यूनतम् महसुल छुट दिने भएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडा अध्यक्ष र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारीबीच बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाकक्षमा अन्तरक्रियापछि बोर्डका सबै ग्राहकलाई न्यूनतम् महसुलमा छुट दिने निर्णय गरिएको हो ।

निर्वाचनको घोषणापत्रमै खानेपानी निशूल्क उपलब्ध गराउने उल्लेख गरे बमोजिम न्यूनतम् महसुल मिनाहा गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो । नगर प्रमुख लामाका अनुसार न्यूनतम् महसुल छुट गर्दा उपमहानगरपालिकाले बोर्डका करिब २३ हजार धाराका लागि वार्षिक २ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याउनुपर्ने हुन्छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले उपमहानगरको यो निर्णयसँगै बोर्डमा आवद्ध नभएका उपभोक्ता समितिहरु पनि बोर्डमा आवद्ध हुन प्रेरित हुने बताउनुभयो । बिहीबार भएको छलफल र सहमतिको विषय हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।