हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न कोभिड–१९ प्रभावितहरुलाई राहत वितरणसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न संघीय सरकारले आव्हान गरेको लक डाउनका कारण उपमहानगरक्षेत्रका विपन्न परिवार प्रभावित भएकोले उनीहरुलाई राहत उपलब्ध गराउन कार्यविधि तयार पारेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
राहत वितरणलाई एकद्वार प्रणालीमा व्यवस्थित गरिने मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाले वडा कार्यालयमार्फत वडा अध्यक्षलाई जिम्मेवार बनाएर राहत वितरण गरिने र अन्य सहयोगी कोही भए उनीहरुलाई पनि वडा मार्फत नै एकद्वार प्रणालीमा वितरण गर्ने गरी सहयोग लिइने उहाँले बताउनुभयो ।
कार्यविधिमा एउटा परिवारलाई एक पटकमा १५ केजी चामल, दुई केजी दाल, २ लिटर तेल, १ केजी नून र ३ वटा साबुन उपलब्ध गराउने उल्लेख गरिएको छ । यस्तै कार्यविधिमा वडा कार्यालयले लक्षित विपन्न परिवारको लगत संकलन गर्ने, राहत सामग्री वितरण पनि वडा कार्यालयले नै गर्नेछ । कार्यविधि पारित गरेसँगै उपमहानगरपालिकाले आजै सूचना जारी गरी ३ दिनभित्र राहत वितरणका लागि सामग्री खरिद प्रक्रिया अगाडि बढाएर चौथो दिन वितरण सुरु गर्ने जनाएको छ ।
प्रत्येक वडामा औसत तीन सय लाभान्वित परिवार रहने अनुमानका आधारमा ५ हजार ७ सय परिवार हुने भए पनि उपमहानगरपालिकाले ६ हजार परिवारका लागि पुग्ने राहत सामग्री खरिद गर्ने तयारी थालिएको उपमहानगरपालिकाका अधिकारीले बताएका छन् । कार्यपालिकाको बैठकले कोभिड–१९ विपद् व्यवस्थापनका लागि ७५ लाखको बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । उपमहानगरपालिकाले राहत वितरणका लागि सामान खरिद गर्न तीनदिनको म्याद राखेर आजै सूचना समेत जारी गरिसकेको छ । उपमहानगरपालिकाले ९० टन चामल, १२ टन दाल, छ टन नुन १२ हजार लिटर तेल र १२ हजार थान सावुन खरिद गर्न सूचना जारी गरेको छ ।