हेटौंडाः आइतबार तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै बागमती प्रदेशसभा सदस्यहरुलाई ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल तामाङ घेदुङ बागमती प्रदेश, नेवाः देयः दवुः बागमती प्रदेश र नेवा देयः दवुः स्वनिगः विशेष प्रदेश समतिको संयुक्त आयोजनामा एक सय ९ जना प्रदेशसभा सदस्यहरुलाई उक्त ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेपाल भाषा आयोगले सिफारिस गरिसकेको अवस्थामा अझै तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन नसकेकोको भन्दै ध्यानाकर्षण गराइएको छ । आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी सरकारी कामकाजमा तामाङ तथा नेपाल भाषाको प्रयोगलाई कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण गराइएको नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलानले जानकारी दिनुभयो ।











