हेटौंडाः उहिलेको पत्रकारिता (अनुभवको संगालो)—२०७९ अभिलेख तयार भएको छ । सञ्चार राजिष्ट्रार कार्यालय बागमती प्रदेशले नेपाली पत्रकारिताको इतिहासलाई पुस्तान्तरण गराउने उद्देश्यले उक्त अभिलेख तयार पारेको हो ।
सञ्चार राजिष्ट्रार कार्यालय बागमती प्रदेशका राजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार ५ जना ज्येष्ठ पत्रकारको अनुभवलाई उक्त कृतिमा अभिलेखीकरण गरिएको छ । भैरब रिसाल, नारायणप्रसाद शर्मा, लालदेउसा राई, रामकृष्ण रेग्मी र कृष्णा ताम्राकारका अनुभवलाई संगालोका रुपमा उहिलेको पत्रकारिता तयार पारिएको सापकोटाको भनाई छ । करिब १ सय ५० पृष्ठमा ५ जना ज्येष्ठ पत्रकारको अनुभव संगालिएका छन् । उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रूपमा भैरब रिसाललाई पाउन सकिन्छ भने मोफसलको धरोहरका रूपमा नारायणप्रसाद शर्मालाई बुझ्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन गर्नेहरूका गुरु लालध्वज देउसा राई र क्रियाशील पत्रकारलाई सीप सिकाउने पत्रकारिताका गुरुका रूपमा रामकृष्ण रेग्मीलाई चिन्न सकिन्छ । अग्रज पत्रकार भैरब रिसाल र रामकृष्ण रेग्मीले राष्ट्रिय समाचार समितिमा रहेर गरेको पत्रकारिता अहिले सोही संस्थामा रहेर पत्रकारिता गर्नेहरूका लागि अनौठो लाग्न सक्छ । रेडियो नेपालबाट समाचार सुन्नेहरूका लागि कृष्णा ताम्राकारको स्वर कर्णप्रिय लाग्छ । ताम्राकारलाई स्वरको खानीका रूपमा चिन्न सकिन्छ ।
अग्रज तथा ज्येष्ठ पत्रकार रिसालको अनुभवले उहिलेको पत्रकारिताको अवस्थाको सचित्र वर्णनलाई उक्त कृतिमा अभिलेखीकरण गरिएको बताइएको छ । रिसालका पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्मका अनुभवलाई अभिलेखका रुपमा समेटिएका छन् । शर्माका अनुभव विशेषगरी मोफसलमा केन्द्रित छन् । उहाँको अनुभवले मोफसलको पत्रकारिताको तस्वीर खिचेका छन् । केन्द्रमा त पत्रकारिता संघर्षमय र चुनौतीपूर्ण रहेका बेला मोफसलको पत्रकारिताले व्यहोर्नुपरेका हण्डर र ठक्करको फेहरिस्तलाई शर्माले अभिलेखमा पस्केका छन् । कृष्णा ताम्राकारको अनुभवले पत्रकारितामा त्यतिबेला क्रियाशील महिला पत्रकारको अवस्था बताउँछ । विशेषगरी रेडियो पत्रकारिताका बारेमा उहाँको अनुभव नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले अभिलेखमा समेटिएका छन् ।
लालध्वज देउसा राई नेपाली पत्रकार उत्पादनका खानी रहेको रजिष्ट्रार सापकोटाले बताउनुभयो । पत्रकारिता र पत्रकार उत्पादनमा राईको अनुभव केन्द्रित छन् । विश्वविद्यालयस्तरीय पत्रकारिता अध्ययन–अध्यापनमा उहाँको अनुभवले पत्रकारिताको इतिहास बोलिरहेको दावी सापकोटाले गर्नुभयो । रामकृष्ण रेग्मीको अनुभव पत्रकारिता तालिममा बढी केन्द्रित छ । सँगसँगै पत्रकारिता अध्ययन–अध्यापनमा पनि उहाँको अनुभवलाई अभिलेखका रुपमा कृतिमा समेटिएका छन् । राई र रेग्मीका सरकारी सञ्चार माध्यममा काम गर्दाका रोचक अनुभवलाई कृतिमा समेटिएको रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो । ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकारका अनुभव संगालोलाई उक्त कृतिमा अभिलेखीकरण गरिएका छन् ।
२०७८ पुस २० गते बागमती प्रदेश सरकारले ज्येष्ठ पत्रकार अनुभव अभिलेखीकरण कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७८ कार्यान्वय गर्न आग्रह गरेको थियो । पत्रकारिता क्षेत्रको इतिहासलाई सम्मान गर्न, नयाँ पत्रकारहरुलाई पत्रकारिताको विरासत चिनाउन, पत्रकारितामा संग्लनहरुलाई थप ऊर्जा र प्रोत्साहन प्रदान गर्न, पत्रकारिताको मर्यादा र विश्वसनियता बढाउन ज्येष्ठ पत्रकार अनुभव अभिलेखीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । सञ्चार राजिष्ट्रार कार्यालयको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश रहेको ज्येष्ठ पत्रकार अनुभव अभिलेखीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि बनाएको थियो । ३० वर्षभन्दा बढी समय प्रदेशमा पत्रकारिता पेशामा कार्यरत रहि ६० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकारहरुलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरिएको थियो । सञ्चार रजिष्ट्रारको संयोजकत्वमा ५ जनाको छनौट समिति गठन गरी ५ जनालाई अभिलेखीकरण कार्यक्रममा समेटिएको सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।
पत्रकारितामा लाग्नुका कारण वा प्रेरणा, पत्रकारिता सुरुवात गर्दाको अनुभव, चुनौती र अवसर, समकालीन समयमा प्र्रयोग भएका ज्ञान तथा प्रविधि, पत्रकारिताबाट प्राप्त भएका उपलब्धी र गुमेका सम्भावित अवसरका आधारमा अभिलेखीकरण कार्यक्रममा ५ जना ज्येष्ठ पत्रकारलाई छनौट गरिएको हो । विषयगत पत्रकारिता र मिसन पत्रकारिताको समीक्षा र अहिलेको पत्रकारिताको मूल्यांकन वा समीक्षा, वर्तमान पत्रकारिताका नयाँ स्वरुपले ल्याएको विश्वसनियता र नैतिकताको प्रश्न, प्रविधि र पत्रकारिताबीचको अन्तरसम्बन्ध, पत्रकारिताले समाज रुपान्तरणमा खेलेको भूमिका, निजको सम्झनालायक एक समाचार र त्यसले पारेको प्रभाव, नेपालको वर्तमान पत्रकारिताले लिएको दिशा र त्यसको भविष्यका आधारमा ज्येष्ठ पत्रकारका अनुभवलाई कार्यक्रममा समेटिएका हुन् । अभिलेखीकरण कार्यक्रममा छनौट हुनुभएका ५ जना ज्येष्ठ पत्रकारलाई सम्मानस्वरुप जनही २५ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिएको छ ।











