संस्थापक प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा बिहीबार बिहान अनावरण गरिएको छ । मकवानपुर क्याम्पस आल्मुनाई एसोसिएसनको अग्रसरतामा संस्थापक प्रमुख श्रेष्ठको प्रतिमा निर्माण भएको हो । मकवानपुरकै मूर्तिकार लक्ष्मण भुजेलले श्रेष्ठको अर्धकदको प्रतिमा बनाउनुभएको हो ।

२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभावमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पसमा आउनुभएको थियो । स्थापनाकालदेखि २०४५ माघ १० गतेसम्म श्रेष्ठ मकवानपुर बहुमुखी क्याम्पसको प्रमुख भएर काम गर्नुभयो । बिहीबार बिहान श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरे । संस्थापक समयमा उल्लेखनीय योगदान गर्नुभएका मुकुन्द दास श्रेष्ठ सरको सम्मानमा प्रतिमा निर्माण गरिएको मकवानपुर क्याम्पस एल्मुनाईका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ ।

मकवानपुर क्याम्पसका संस्थापक प्रमुख मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा अनावरण गर्दै ।

“क्याम्पस स्थापना भए पनि जनशक्तिको अभावका बेला काठमाडौंको भोटाहिटीको मान्छे त्रिचन्द्र क्याम्पसमा स्थायी जागिरे मान्छे हेटौंडा काजमा आइदिनुभयो”, मकवानपुर क्याम्पसको स्थापनाकालदेखि कार्यरत सत्यनारायण सिलवाल भन्नुहुन्छ, “मकवानपुर क्याम्पसको जग बसालेर फर्कनु भयो । बिहान एक सिफ्टको सेवा, सुविधा लिएर साँझ अर्को सिफ्ट कुनै सुविधा नै नलिई पढाउनुभयो ।” १६ भाषाको ज्ञान भएको श्रेष्ठ काठमाडौं फर्कनु भएपछि पनि क्याम्पसको वार्षिकोत्सवमा दुई पटक आउनुभएको सिलवाल स्मरण गर्नुहुन्छ ।

हेटौंडाको उच्च शिक्षाको जग बसाल्न उल्लेखनीय योगदान दिनुभएका मुकुन्द दास श्रेष्ठलाई सधैं सम्झनुपर्ने सिलवालको भनाइ छ । “मलाई टेबल कुर्सी चाहिँदैन । पढाउने मान्छे हुँ पढाउँछु भन्ने धारणा राख्नुहुन्थ्यो”, सिलवालले भन्नुभयो, “उहाँको योगदानको सधै चर्चा गरिरहनुपर्ने र त्यसका लागि कोष नै बनाएर छात्रवृत्ति वितरण गर्नुका साथै असल विद्यार्थीलाई पुरस्कृत गर्नुपर्छ ।” २०७२ सालको भूकम्पमा पनि निधन भएका श्रेष्ठको ४ छोरी र १ छोरा हुनुहुन्छ । प्रतिमा अनावरण कार्यक्रममा छोरा–छोरीलाई सहभागी हुन जानकारी गराए पनि व्यस्तताका कारण सहभागी हुन सक्नुभएन । हेटौंडामै रहनुभएकी भतिजी शान्ति श्रेष्ठ र ज्वाई केशव श्रेष्ठ भने सहभागी हुनुभयो ।

मकवानपुर क्याम्पसका पूर्व विद्यार्थीहरुको संगठनले संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको प्रतिमा बनाउन अग्रसरता लिएको हो । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेको छ ।