सम्मान गर्दै ।

हेटौंडाः आदिकवी भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसरमा जनवादी गायक जीवन शर्मा र छन्द कवि ठाकुर शर्मा भण्डारी सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशका जनवादी गायक शर्मा र काठमाडौंका छन्द कवि भण्डारीलाई वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले सम्मान गरेको हो ।
मकवानपुरगढी–३ मा रहेकोे भानु माध्यमिक विद्यालयमा प्रतिष्ठानले भानु जयन्ती विशेष कार्यक्रम आयोजना गरेको थियो । माविस्तरीय कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा जनवादी गायक शर्मा र छन्द कवि भण्डारीलाई १५/१५ हजार रुपैयाँ नगद राशिसहित वासुदेव स्मृति सम्मान–२०७९ बाट सम्मान गरिएको छ ।

सम्मानित स्रष्टा शर्माले २५ सयभन्दा बढी गीतमा संगीत र ६ हजारभन्दा बढी गीतमा शब्द रच्नुभएको छ । यस्तै, भण्डारीले २७ वटा कृति प्रकाशित गरिसक्नुभएको छ । माविस्तरीय कविता प्रतियोगितामा ३ जना उत्कृष्ट हुन सफल भएका छन् । जेनिशा चौलागाई, रजनी घोरसाइनी, संयुसा फुँयाल उत्कृष्ट भएका छन् भने रोजिता लम्साल र अप्सरा लम्साल सान्त्वना हुन सफल भएका छन् । ९ जना प्रतियोगीहरुमा ३ जना उत्कृष्ट र २ जना सान्त्वना हुन सफल भएका हुन् । उत्कृष्ट हुने तीन जनालाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ र सान्त्वना हुने २ जनालाई प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा सिस्नुपानी नेपाल मकवानपुर तथा नेपाली लेखक संघ मकवानपुरका सदस्य संप्रश पौडेल र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य मसान उपासकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले नेपाली भाषाको माध्यमबाट नेपाली भावनाको एकीकरण गर्न भानुले उल्लेखनीय योगदान गरेको बताउनुभयो । कसैले प्रतिगामीका पिता, कसैले देवत्वकरणका रुपमा भानुलाई चिन्ने गरेको जानकारी निखिलले दिनुभयो । भानुको केही कमी कमजोरी हुनसक्ने भएकाले देवत्वकरण र सत्तोसराप गर्नुको कुनै औचित्य नभएको उहाँको धारणा छ । मोतिराम भट्टले आदिकविका रुपमा भानुलाई चिनाएको र भानुभन्दा अघि अरु आदिकवि रहेको रिजालले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्यकारहरु माधव भण्डारी “रश्मी”, देवराज खरेल, सुदर्शन अधिकारी, भानु माविका प्रधानाध्यपक राजेन्द्र थापा, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।