हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष महालेखा परीक्षकको कार्यालयबाट बागमती प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षण प्रतिवेदन बुझाईएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक त्रिलोचन आचार्यले चौथो प्रादेशिक लेखा परीक्षण प्रतिवेदन बुझाउनु भएको हो ।
प्रतिवेदन बुझाउने कार्यक्रममा नायव महालेखा परीक्षक आचार्यले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेको आर्थिक कारोबारको लेखा परिक्षण गरी तयार पारिएको प्रतिवेदनबारे चर्चा गर्नुभएको थियो । प्रतिवेदनबारे जानकारी लिनुहुँदै प्रदेश प्रमुख शर्माले नेपालको संविधान बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखा परीक्षकबाट आर्थिक वर्ष २०७७/०७८ को बागमती प्रदेशभित्रका सार्वजनिक निकायको लेखाको परीक्षण गरी तयार गरिएको प्रतिवेदनले सुशासनलाई अंगीकार गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । साथै, महालेखा परीक्षकको कार्यालयको सक्रियताले सार्वजनिक हितमा प्रभावकारी प्रतिफल दिने गरी आर्थिक क्रियाकलाप संचालन गर्न प्रदेशका सम्बद्ध सार्वजनिक निकायलाई मार्गदर्शन गर्न र बेरुजु घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुयाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक थवराज अधिकारी, लेखा परीक्षण अधिकारी दीपक आचार्य, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, शाखा अधिकृत इन्दिरा पौडेल, कानून अधिकृत प्रकाश चापागाईं लगायतको उपस्थिति थियो ।