सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेशको आज बुधबार बसेको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभा बैठकले ४ वटा अध्यादेश सर्वसम्मतले स्वीकृत गरेको छ भने एउटा अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।

प्रदेश निजामित सेवाको गठन संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सभामा पेश गर्नुभएको थियो । यस्तै, मुख्यमन्त्री पाण्डेले स्थानीय तहको सेवा(गठन तथा संचालन) सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सभामा पेश गर्नुभएको थियो । यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन–२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गर्नुभएको थियो । प्रदेश यूवा परिषद् ऐन–२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश यूवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको तर्फबाट आर्थिक मामिला तथा योजना शालिकराम जमकट्टेलले सभामा पेश गर्नुभएको थियो । ४ वटै अध्यादेश प्रदेश सभामा सर्वसम्मतले स्वीकृत गरेको छ ।

त्यसैगरी, स्वास्थ्य राज्य मन्त्री कल्पना नेपालीले सभामा पेश गर्नुभएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश बहुमतले स्वीकृत भएको छ ।