हेटौंडाः मनहरीस्थित युनाइटेड बोर्डिङ स्कूलका विद्यार्थीहरुले सोमबार मनहरी–७ स्थित मनहरी सामुदायिक पुस्तकालयको भ्रमण गरेका छन् । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले पुस्तकालयको भ्रमण गर्नुका साथै पुस्तकालयको सदस्य समेत बनेका छन् । मनहरी सामुदायिक पुस्तकालय मनहरी गाउँपालिकाको एक मात्र सामुदायिक पुस्तकालय हो ।
पाठ्यक्रमका साथसाथै पाठ्यक्रमभन्दा बाहिरका विविध विषयका पुस्तक अध्ययन गर्नुपर्ने आवश्यकतालाई बुझाउन पुस्तकालयको भ्रमण गराइएको विद्यालयका सहायक प्रिन्सीपल मनोज मोक्तानले जानकारी दिनुभयो । पुस्तकालय भ्रमणसँगै ४५ जना विद्यार्थी पुस्तकालयको सदस्य समेत बनेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रमणि स्याङ्तानले जानकारी दिनुभयो । सदस्य बनेका विद्यार्थीले पुस्तक पनि लिएर गएका छन् ।

पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा गत वर्ष साउन ९ गते स्थापित मनहरी सामुदायिक पुस्तकालयमा ४ सयभन्दा बढी पुस्तक छन् । एक सय २५ जना सदस्य रहेको पुस्तकालयले प्रवेश शूल्क ५ सय रुपैयाँ र मासिक ५ रुपैयाँ सदस्यता शूल्क लिने गरेको छ । विद्यार्थीको हकमा भने मासिक ५ रुपैयाँ मात्रै शूल्क लाग्ने अध्यक्ष स्याङ्तानले बताउनुभएको छ । पुस्तकालय सञ्चालन तथा व्यवस्थापन मनहरी गाउँपालिकाले सहयोग गर्दै आएको छ ।










