सिएम रिमाल हेटौंडा

नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा भारत, भुटान र म्यानमारको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो भनेर हामीले पढ्दै आएका छौँ । यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारिक (सरकारी कामकाजको) भाषा पनि हो । खासगरी सन् १९९० पछि लाखौं सङ्ख्यामा नेपालीहरू आप्रवासीका रूपमा विदेशिन थालेपछि अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, युरोपेली सङ्घ र खाडी मुलुकहरूमा नेपाली भाषीहरू छरिएका छन् । नेपालका करिब आधा जनसङ्खयाले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गरेका छन् ।

भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाबाटै विविध संस्कृतिको अभिव्यक्ति हुने र भाषाभित्र अनेक संस्कृति समेटिने हुँदा यसलाई महासंस्कृतिका रूपमा लिने गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता पनि हो । दैनिक सामाजिक व्यवहारमा विचारको आदानप्रदान भाषाकै माध्यमबाट हुने हुँदा भाषाबिना मानिसका सामाजिक व्यवहार एवम् क्रियाकलाप सञ्चालन हुँदैनन् । एक हजार वर्ष पार गरिसकेको नेपाली भाषामा उहिलेदेखि अहिलेसम्म थुप्रै व्याकरण र कोशको निर्माणका साथै प्रशस्तै साहित्यिक कृतिहरूको सिर्जना भइसकेको र यसले मानक स्वरूपसमेत ग्रहण गरिसकेको हुँदा नेपाली भाषा एउटा विकसित र सम्पन्न भाषा हो भन्न हामी हिचकिचाउनु हुँदैन ।

नेपालीहरू नपुगेका मुलुकहरू विश्वमा सायदै होलान् । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण अनि संवर्धन गर्ने दायित्व हाम्रो काँधमा पनि आएको छ । अथवा भनौँ, हामीमा यो जिम्मेवारी अझ बढेको छ । कुनै पनि समाजको परिचय उसको संस्कृतिले दिन्छ र संसारमा कुन संस्कृति कति धनी छ भन्ने कुरा त्यसको भाषा र साहित्यले दर्शाउँछ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस समाजको साहित्य र संस्कृति दुवै लोप भएर जान्छन् अनि साहित्य र संस्कृति लोप भए भने समाजको कुनै अस्तित्व रहँदैन । र, अस्तित्व खोज्ने क्रममा त्यो समाज अन्य समाज र संस्कृतिमा विलीन हुन पुग्छ । संसारमा यस्ता धेरै समाज वा समुदाय छन् जसले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न नसकेर विलीन भएका छन् अन्य समाजसँग घोलिएका छन् ।

नेपाली भाषा र साहित्य हाम्रो नेपाली संस्कृति पनि विश्वका समृद्ध संस्कृतिमध्ये एक हो किनकि हाम्रो नेपाली भाषा र साहित्य पनि त्यत्तिकै समृद्ध छन् अनि विश्व साहित्यसँग तुलना गर्न योग्य । अझ स्पष्टसँग भन्ने हो भने नेपाली साहित्य पनि विश्व साहित्यसँग पौँठेजोरी खेल्न सक्षम छ । किनकि नेपाली भाषा आफैँमा समृद्ध छ, यसको व्याकरण व्यवस्था व्यवस्थित छ र शब्दभण्डार परिपूर्ण छ । अनुकरणात्मक शब्दहरू त नेपाली भाषाका आफ्नै मौलिक विशेषता हुन् ।

त्यसैले नेपाली भाषाको संरक्षण र संवर्धन गर्नु भनेको नेपाली साहित्य र संस्कृतिको विकासमा सहयोग गर्नु हो । नेपाली साहित्य र संस्कृतिको विकासमा सहयोग गर्नु भनेको आफ्नै अस्तित्वको, आफ्नै स्वाभिमानको रक्षा गर्नु पनि हो । यतिमात्र होइन; नेपाली संस्कृति विभिन्न जाती, धर्म र सम्प्रदाय मिलेर बनेको एउटा साझा संस्कृति हो, र यिनीहरूबीच सद्भाव बढाउन, मैत्री बढाउन अनि सहकार्य गर्न पनि नेपाली भाषाले ठूलो भूमिका खेलेको छ ।
तर, यस्तो गौरवमय इतिहास बोकेका, यस्तो विशाल भाषा, साहित्य र संस्कृतिका धनी हामीहरू यसको संरक्षण र विकासमा एकजुट भएर आजैदेखि लाग्न सकेनौँ भने आजको बीस–तीस वर्षपछि हामी को थियौँ र कहाँबाट आएका थियौँ भन्ने केही नामोनिसान पनि नरहन सक्छ । विश्वमा यस्ता धेरै राष्ट्रहरू छन् जहाँ नेपालीहरू पुस्तौंदेखि ठूलो सङ्ख्यामा बसोबास गर्दै आइरहेका छन् तर तिनीहरूको कुनै अस्तित्व रहँदैन मात्र तिनीहरूको थरले नेपाली रहेछन् भनेर चिनाउँछ ।

नेपाली भाषाको संरक्षण र संवर्धनका उपायहरू:

आज हाम्रो काँधमा आफ्नो समुदायको, आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने र हाम्रा भावी सन्ततिलाई हस्तान्तरण गर्ने ठूलो दायित्व आएको छ, जसलाई म एउटा सौभाग्य पनि ठान्दछु । किनकि यदि हामी सबैले आज मैले पनि मेरो समाजका लागि, मेरो मातृभाषाका लागि केही गर्ने मौका पाएको छु भनेर सोच्न सक्यौँ भने, मेरो पनि यसका लागि केही जिम्मेवारी छ भनेर आफ्नो कर्तव्यबोध गर्न सक्यौँ र आ–आफ्नो तर्फबाट जेजति सहयोग वा योगदान दिन सकिन्छ त्यसका लागि अघि बढ्न सक्यौँ भने हामी अवश्य पनि सफल हुनेछौँ । किनकि मेरो विचारमा अझैपनि धेरै सुधार र विकासका सम्भावना वा विकल्पहरू छन् यी मध्ये कतिपय कार्यहरू व्यक्तिगत वा पारिवारिक रूपमा गर्न आवश्यक छ भने कतिपय कार्यहरू सामूहिक वा साङ्गठनिक रूपमा गर्न आवश्यक छन् ।

आउनुहोस् हामी सबै मिलेर हाम्रो भाषा, साहित्य, संस्कृति र संस्कारको संरक्षण र संवर्धनमा एकजुट भएर लागौँ । फलानो व्यक्ति वा संस्थाले के ग¥यो के गरेन भने र लेखाजोखा गर्नमा समय व्यतित गर्नु भन्दा मैले के कति सहयोग गरेँ भनेर आफूलाई प्रश्न गर्नु उचित हुन्छ र आफ्नो तर्फबाट जेजति सहयोग गर्न सकिन्छ गर्ने प्रयास गर्नु पर्दछ । यदि हामीले चाह्यौँ र एक भएर अघि बढ्न सक्यौँ भने यहाँ सम्पूर्ण साधन र स्रोतहरू जुटाउन सक्छौँ । वास्तवमा भन्ने हो भने हामीसँग यहाँ मनबाहेक अरु सबै कुरा छन् ।

तपाईं आफ्ना सन्तानले कस्तो भाषा लेखून् भन्ने चाहनुहुन्छ ? उनीहरूले जे पायो त्यही लेखेर ‘कुरा बुझाए’ पुग्छ कि आफ्नो काम गर्ने भाषाहरूमा उनीहरूको राम्रो दख्खल होस्, उनीहरूले लेखे–बोलेका कुरा प्रभावकारी होऊन् भन्ने चाहनुहुन्छ ?
कुनै पनि आमाबाबुले आफ्ना सन्तान ‘काम चलाउ’ भाषा मात्र बोल्न वा लेख्न सक्ने होऊन् भन्ने सोच्लान् जस्तो मलाई लाग्दैन । भाषा मान्छेको अनुहार हो । भाषा उसका क्षमताहरूको सिँढी हो । जुन भाषा बोले पनि हुन्छ, जुन भाषा लेखे पनि हुन्छ, तर त्यो शुद्ध, प्रभावकारी छैन भने अबको संसारमा राम्ररी गरिखान गाह्रो हुन्छ ।

‘बुझे भइहाल्छ नि’, वा ‘जस्तो लेखे पनि हुन्छ’ भन्नेहरू तपाईं–हाम्रा शत्रु हुन् । जो तपाईँ हामीलाई झुर भाषाको अराजक अहङ्कारमा फसाएर आफ्ना सन्तानको शिक्षा र भाषिक उन्नयनका लागि खर्च र मिहिनेत गर्छन् । यति बुझेर पनि, ‘भाषा भनेको बुझ्नलाई त हो’ भन्नेलाई त नकेलाएको, बियाँ र ढुङ्गा सरीको भात र पटक्कै नकेलाएको साग पस्केर, ‘ज्युनार होस् हजुर, खाना भनेको खानलाई त हो,’ भन्ने बाहेक अर्को उपाय छैन । मान्छेले खाना खाँदा बियाँ लाग्नु राम्रो होइन भन्ने बोध हुनेले मात्र केलाएर खाने–खुवाउने हो । भाषाको भान्सा फराकिलो हुन्छ । आफूले पस्केको ‘खानेकुरा’ खाँदा कसैको दाँतमा ढुङ्गा नलागोस् भन्ने आत्मसम्मान भएका भान्से बिस्तारै भए पनि बढ्दै जालान् भन्ने आशा बढ्न थालेको छ ।

अन्तमा जाँदाजाँदै म नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिप्रेमी अभिभावक र विद्यार्थी भाइबहिनीहरूलाई अर्को पनि एउटा खुशीको खबर दिन चाहन्छु । नवोदय विद्यालयले नेपाली भाषा र साहित्यमा विभिन्न क्लबहरु सञ्चालनमा ल्याएको छ । नवोदय साहित्यिक बगैँचा बाल क्लब तथा नेपाली पत्रकारिता क्लब जसको अगुवाइकर्ता पनि विद्यार्थीहरु नै छन् जसले गर्दा यिनीहरुलाई नेतृत्व गर्ने क्षमताको विकास हुनुका साथै समूहमा काम गर्ने वातावारण, सिर्जनात्मक क्षमताको विकास, तार्किक क्षमताको विकास, कल्पनाशक्तिको विकास, सञ्चारको विकास साथै खोज अनुसन्धानको विशेष विकास हुने भएकाले यस क्लबको आवश्यकता ठानेर हामीले दुई वर्ष अगाडिबाटै सञ्चालमा ल्याएका छौँ यसले उनीहरुमा आमूल परिवर्तन देखा परेको छ । उनीहरुलाई साहित्य सिर्जना गर्दा विशेषतः त्यहीसँग सम्बन्धित सर्जकहरुमाझ साक्षात्कार गराएर, स्थलगत रुपमा लगेर पनि सिर्जनशील बनाउने जमर्कोमा हामी लागेका छौँ । नेपाली भाषा र साहित्य केबल अङ्क र मनोरञ्जनका लागि मात्र नभई समाज परिवर्तनको संवाहक र संस्कृतिको जगेर्ना गर्ने तौरतरिकाबाट अध्ययनको फरक कडीहरु थप्दै गएका छौँ ।