इलोक्ट्रोनिक्स सामान, नगदसहित अनलाइन जुवा खेलाउनेहरु हेटौंडामा पक्राउ परेका छन् । प्रहरीले एक लाख ४५ हजार ७५ रुपैयाँ नगद, एक सय दश थान मोबाइल, डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप ३ थान र राउटर ४ थान बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा युवा उमेर समूहका बढी छन् । छिट्टै धनी बन्ने ध्याउन्नका साथ युवाहरुले गर्ने गैरकानुनी कारोबारमध्ये जुवा पनि हो । सट्टेबाजीमार्फत् रकम कमाउने उद्देश्यबाट गरिने खेल पछिल्लो समय अनलाइन प्रविधिको उपयोग गरेर जुवा खेल्न थालिएको पाइन्छ । जुवा शब्द आफैंमा गैरकानुनी हो । कानुनविपरितको कार्यलाई प्रशासनको आँखा छल्न वैधानिक कारोबारको बोर्ड राख्ने गरेको देखिन्छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, कमलडाँडामा सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेडको कार्यालयमा जुवाको कारोबार हुने रहेछ । विद्युतीय उपकरणको कारोबार गर्ने संस्था दर्ता गर्ने तर कारोबार अबैध गर्नुले युवाहरुमा छिट्टै पैसा कमाउने हुटहुटी देखिन्छ । कार्यालय र संस्था कानुनसम्मत देखाउने, तर कारोबार अबैध गर्नेहरु यो एउटा समूहमात्र हैन, यस्ता धेरै संस्था र समूह हुन सक्छन् । प्रशासनले निगरानी बढाउन आवश्यक छ । कसैले खबर गरेर भन्दा पनि राज्य संयन्त्रले नै अबैध धन्दाहरुको खोजी गरिनुपर्दछ । जुन संस्था वा कार्यालयमा कानुनविपरित कारोबार हुन्छ, त्यस्तो ठाउँ आसपासमा नागरिक पनि सुरक्षित नहुन सक्छन् । सामाजिक रुपमा हुने खराब व्यवहारको कडाईका साथ अनुगमन गर्ने र नागरिकलाई सुरक्षाको अनुभूति दिने दायित्व राज्यका निकायहरुको हो ।
आफ्नो टोल, छरछिमेकमा कस्ता मानिसहरुको आउजाउ हुँदैछ र कस्तो व्यवहार गर्दछन् भन्ने निगरानी नागरिकले पनि राख्न जरुरी छ । सुरक्षा निकायहरु आफैंले मात्र सबै प्रकारको अपराध नियन्त्रण गर्न सक्छ भन्ने छैन । ऊसँग भएको श्रोत, साधन र जनशक्तिले भूमिका प्रभावकारी नभएको हुनसक्छ । यस्तो अवस्थामा सर्वसाधारण नगारिक बिना बर्दीको प्रहरी बन्न जरुरी छ । अबैध धन्दा गर्नेहरुको खोजी गर्ने जिम्मेवारी र दायित्व राज्यका निकायको मात्र हैन । नागरिकले आफ्नो टोल छिमेकमा भएका शंकास्पद काम कारवाहीप्रति निगरानी राख्नु पर्दछ । अबैध काम गर्नेहरुलाई अर्को अपराध गर्न डर हुँदैन । जोखिमलाई मध्यनजर गर्दै नागरिकहरुले सुरक्षा निकायलाई सूचना दिनु पर्दछ ।
हेटौंडामा अबैध कारोबार गरेको आरोपमा पक्राउ परेका सबै युवाहरु नै छन् । पक्राउ पर्नेहरुमा हेटौंडा वडा नम्बर–९ लामसुरेका २३ वर्षीय, हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय, हेटौंडा–११ बस्ने २७ वर्षीय, हेटौंडा–१४ चुरियामाई बस्ने २४ वर्षीय, हेटौंडा–१२ बस्ने २३ वर्षीय र मनहरी गाउँपालिका–४, मसिने बस्ने २० वर्षीय युवा रहेका छन् । पक्राउ पर्नेहरुमा गोरखा जिल्लाका ४ जना र बारा जिल्लाका एक जना युवा छन् । नयाँ प्रविधिसँगको अभ्यस्ततासँगै युवाहरुले त्यसको दुरुपयोग गरेको देखिन्छ । युवाहरुको प्रवृत्ति प्रविधिमैत्री मात्र हैन कि गलत प्रयोग गर्ने देखिएको छ । युवाहरुले प्रविधिको प्रयोग गरेकोमा खुशी हुँदै गर्दा होशियारी र सतर्कता पनि आवश्यक छ ।











