जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यालय प्रमुखहरुको बैठक ।

हेटौंडाः भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले सदाचार प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि मकवानपुर जिल्लास्थित कार्यालय प्रमुखहरुलाई आआफ्नो कार्यालयको सेवा प्रवाह र नियमित कार्यमा ध्यान दिन आग्रह गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित बैठकअघि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका पदाधिकारीले परिचयात्मक कार्यक्रम गरी कार्यालयको सेवा प्रवाहलाई सदाचारयुक्त, भ्रष्टाचारमुक्त बनाउन आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा भ्रष्टाचार विरुद्धको निगरानी संस्था मकवानपुरका सल्लाहकार विशाल कुमार विडारीले संस्थाको स्थापनाको औचित्य र गर्दै आएको कार्यका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सेवाग्राहीलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न र आर्थिक तथा अन्य कुनै किसिमको अनियमितताको स्थिति नहोस् भनी कार्यालय प्रमुखहरुलाई ध्यान दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भ्रष्टाचार निवारण तथा सदाचार प्रवद्र्धनमा नागरिक तहमै सचेतना जरुरी रहेको बताउनुभयो । नागरिकले सेवा प्राप्त गर्ने बेला कर्मचारीबाट हुने ढिलासुस्ती या कुनै समस्या भए कार्यालय प्रमुखलाई वा स्थानीय प्रशासनमा जानकारी गराउन सकिने उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो, ‘नागरिकले प्रलोभन नदेखाउने हो भने पनि भ्रष्टाचार न्यूनीकरणमा ठूलो योगदान पुग्नेछ । कार्यालय प्रमुखहरुले पनि आआफ्ना कार्यालयमा कर्मचारीले कुनै किसिमको लेनदेन वा अनियमितताको स्थिति नहोस् भनी चनाखो हुनुहोला ।’ उहाँले निगरानी संस्थाका पदाधिकारीलाई बढी जनगुनासो आउने कार्यालयमा पुगेर कार्यालय प्रमुख र कर्मचारीहरुसँग छलफल गर्न र सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईले जनताको सेवामा सरकारी निकायहरु जिम्मेवार हुनुपर्ने अवगत गराउँदै कार्यालय प्रमुखहरु जिम्मेवार भइदिने धेरै हदसम्म अनियमितताका घटना न्यूनीकरण हुँदै जाने बताउनुभयो । स्थानीय प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको सहकार्यमा निगरानी संस्थाले सरकारी निकायको नियमित निगरानी र अनुगमन गरी सल्लाह, सुझाव प्रदान गर्ने चौलागाईले बताउनुभएको छ ।