हेटौंडाः गजल मञ्च मकवानपुरले नियमित गजल यात्रा आज हेटौंडामा भएको छ । शनिबार मञ्चले गजलकार देवराज तिवारीका विशेष गजल वाचन कार्यक्रमको आयोजना गर्दै १९२औं गजल यात्रा कार्यक्रम गरेको छ । “जोक छुट्छ यार भट्टीको भाषा बोलिदेउ जस्तो लाग्छ” भन्दै तिवारीले आधा दर्जन गजल वाचन गर्नु भएको थियो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा नवसर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि नवसर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विद्यालय र क्याम्पस तहका विद्यार्थीलाई गजलमा जोड्दै लानुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षणसँगै नियमित शृङ्खला आगामी दिनमा विद्यालयमा नै आयोजना गर्न आग्रह गर्नुभयो । जसले नयाँ पुस्तालाई गजल लेख्न प्रेरणा मिल्ने उहाँको भनाई छ ।

कार्यक्रममा बढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेल, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, साहित्यकारहरु मोहन वैद्य, सानु खनाल, चिरञ्जीवी लामिछाने लगायतको उपस्थिति थियो ।