नेपाल आर्मी (हरियो जर्सी) र एभिनियर (सुन्तला रंगको जर्सी) का खेलाडी बल नियन्त्रणमा लिने प्रयास गर्दै ।

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनलको समिकरण पुरा भएको छ । आज शनिबार सेमिफाइनलका खेल सम्पन्न भएसँगै फाइनल समिकरण पुरा भएको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएकोे अन्तिम सेमिफाइनलको खेलमा क्यामरुनी टोलि एभिनियर एफसीलाई हराउँदै नेपाल आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले एभिनियरलाई सडेनडेथमा पराजित गरेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा बराबरीको नतिजापछि खेल सडेन डेथमा धकेलिएको थियो ।

खेलमा आर्मीले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । यस्तै खेलको दोस्रो हाफको इन्जुरी समयमा एभिनियरले १ गोल फर्काउँदै खेललाई बराबरीमा फर्काएको थियो । हारसँगै एभिनियर प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै आर्मीले मकवानपुरको घरेलु टोली विजय युथ क्लबसँगको फाइनल भेट पक्का गरेको छ । यस अघि विजय युथ फाइनल प्रवेश गरिसकेको छ । विजय युथ र आर्मी बीचको फाइनल खेल सोमबार हुनेछ ।

दुवै टोलि उपाधि हात पार्ने योजनासहित मैदान उत्रनेछन् । विजय युथ यस अघिको मकवानपुर गोल्डकपको तेस्रो संस्करणको उपविजेता समेत हो । १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड वाइक प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्त खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।