हेटौंडाः हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण अन्तर्गत् आइतबार बिहान भएकोे खेलमा नेपाल एपीएफ फुटबल क्लबले फ्रेण्ड्सविरुद्ध सहज जित हासिल गरेको छ । फ्रेण्ड्स क्लबलाई नेपाल एपीएफ फुटबल क्लबले ३–० गोलअन्तरले पराजित गरेको हो ।
शनिबार भारी वर्षाका कारण पिप्ले–क्याम्पा रंगशालाको खेल मैदान जलमग्न भएपछि स्थगित भएको खेल आइतबार बिहान खेलाइएको थियो । नेपाल एपीएफ फुटबल क्लबका प्रदीप लामा म्यान अफ द म्याच घोषित हुँदै दश हजार नगद रुपैयाँ नगद पाएका छन् ।
आइतबार दिउँसो खुमलटार युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।