हेटौंडाः आज १५ औं गणतन्त्र दिवस मनाइँदैछ । नेपालमा गणतन्त्र कार्यान्वयनमा आएको १४ वर्ष पुगेको छ । २०६५ जेठ १५ गतेबाट विधिवतरुपमा नेपालमा गणतन्त्र कार्यान्वयनमा आएको हो ।
करिब अढाई सय वर्ष पुरानो राज्यसत्ता परिवर्तन गरी गणतन्त्र स्थापना भएको हो । २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि राजतन्त्र अन्त्य भए पनि २०६४ चैतमा भएको संविधानसभा निर्वाचनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयनमा आएको विधिवत घोषणा गरेको थियो । संविधानसभाको पहिलो बैठकले नेपालबाट २ सय ३८ वर्षे राजतन्त्रात्मक शाही शासनको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो ।
नेपालमा गणतन्त्र कार्यान्वयनमा आएको घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ । शाहवंशीय राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । गणतान्त्रिक शासन व्यवस्थाको १४ वर्ष भइसक्दा पनि गणतन्त्रको सुखानुभूति नेपाली नागरिकले प्राप्त गर्न नसकेको गुनासो यत्रतत्र सुनिन्छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीहरुको कैद सजाय माफी दिइएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका २७१, ५४७ र १६ जना गरी ८ सय ३४ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ १० गते र जेठ १३ गतेको बैठकको सिफारिस तथा विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम आज जेठ १५ गते आइतबारदेखि लागू हुने गरी गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी मिनाहा भएको सूचनामा उल्लेख छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रदेशप्रमुख, मुख्यमन्त्रीलगायत राज्यका विशिष्ट व्यक्तिहरुले शुभकामना सन्देश दिने गर्दछन् । विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर गणतन्त्र दिवस मनाउने गरिन्छ । विगत केही वर्षदेखि गणतन्त्र दिवसका दिन दिने गरेको सार्वजनिक विदा कटौती गरिएको भए पनि सरकारले यस वर्ष गणतन्त्र दिवसका दिन सार्वजनिक विदा दिएको छ ।