हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी हुनुभएको छ । सत्तारुढ दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएका दुबैजनाले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेको हो ।
नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्तप्रसाद पौडेल हुनुहुन्थ्यो भने उपमेयर पदको उम्मेदवार सुमित्रा काफ्ले हुनुहुन्थ्यो । मेयर पदका अर्का आंकाक्षी राप्रपाका दीपक बहादुर सिंहले पनि शानदार मत पाउनुभयो । हेटौंडा उपमहानगरपालिकाका १ लाख ४ हजार ४ सय ७२ मतदातामध्ये बैशाख ३० गते भएको मतदानमा ७४ हजार १ सय ८५ जनाले मतदान गरेका थिए ।
मेयर पदमा निर्वाचित मीना कुमारी लमाले २३ हजार ७५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत पाउनुभयो । यस्तै दीपक बहादुर सिंहले २० हजार ५ सय ३१ पाउनुभयो । उपमेयरमा राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत पाएर विजयी हुँदा सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत पाउनुभयो । उपमेयर पदकी अर्की आकांक्षी ईन्दिरा डल्लाकोटीले ५ हजार ४ सय ८६ मत पाउनुभयो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयरमा निर्वाचित लामा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि नेकपा एकीकृत समाजवादीतर्फ लाग्नुभएको थियो । उपमेयर भएर काम गरेको अनुभव, तामाङ समुदायकी महिला हुनु, क्रिस्चियन समुदायको प्रतिनिधि हुनुका साथै सत्तारुढ दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएकोले जितको आधार तयार भएको देखिन्छ । अर्कोतर्फ युवा व्यवसायीको रुपमा हेटौंडामा परिचय बनेपछि सामाजिक सेवाको क्ष्ँेत्रमा सक्रिय हुनुभएका राजेश बानियाँ २०७४ सालको स्थानीय तहको निर्वँचनमा ५ नम्बर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षको रुपमा काम गर्दै गर्दा पार्टी राजनीतिमा पनि सक्रियता बढाउनु भएका बानियाँले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुर जिल्लाको प्रदेश समिति सभापति समेत बन्नुभयो ।
हेटौंडा उपमहानगरका १९ वटा वडा मध्ये नेकपा एमालेले वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ गरी ९ वटा वडा जित्न सफल भयो । यस्तै वडा नम्बर १, २, ३, ६, ७, ८, १६ र १७ गरी ८ वटा वडा नेपाली कांग्रेसले जित्यो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक वटा वडा अध्यक्ष जितेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेर हेटौंडा–४ मा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, १० मा फुर्वा दोर्जे लामा, ११ मा जुना दाहाल, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल बानियाँ र १९ मा नरनाथ सुवेदी वडा अध्यक्षमा निर्वाचित भए ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेर हेटौंडा–१ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ मा ढलक बहादुर थापा, ६ मा विष्णुबहादुर दाहाल, ७ मा दामोदर गौतम, ८ मा राम थापा, १६ मा रामकृष्ण कोइराला र १७ मा उद्धव सत्याल वडा अध्यक्ष निर्वँचित भए । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सुकराम केसी हेटौंडा–९ को वडा अध्यक्ष निर्वाचित हुँदा हेटौंडा–१२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललित घलान विजयी हुनुभएको छ ।
वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ४ का नवीन सिग्देल, १२ का ललित घलान, १४ का दीपक खड्का, १६ का रामकृष्ण कोइराला, १८ का अनिल बानियाँ र १९ का नरनाथ सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा नम्बर ३ का ढलक बहादुर थापा, १५ का सुनिल मोक्तान २०७४ सालको निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए । वडा नम्बर ९ का सुकराम केसी, ११ की जुना दाहाल २०७४ सालका वडा सदस्य निर्वाचित भएर काम गरेका व्यक्ति हुन् । शुक्रबार हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम घोषणा भएसँगै मकवानपुरका १० वटै पालिकाका प्रमुख, उपप्रमुख, जिल्लामा रहेको १ सय २ वटै वडाका वडा अध्यक्ष र सदस्यहरु निर्वाचित भएका छन् ।