हेटौंडाः ३० बैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । अहिले विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु घरदैलो अभियान छन् । सबै उम्मेदवारहरुले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेर चुनावी प्रचारप्रसारमा जुटेका छन् । स्थानीय अर्थतन्त्रको वृद्धि, विकास गर्न राजनीतिक दलहरुले केही एजेण्डाहरु अगाडि सारेका छन् । निर्वाचनमा आर्थिक गतिविधि बढ्न पनि थालेको छ । स्थानीय चुनावले ग्रामीण क्षेत्रसम्म उपभोग बढ्दा सेवा क्षेत्रले उत्पादन गर्ने सेवा पनि विस्तार भइरहेको हो । आर्थिक क्षेत्रमा निर्वाचनको प्रभावबारे मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता (अग्रवाल) र उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले आ–आफ्नो धारणा राख्नुभएको छ ।
व्यवसायीमैत्री स्थानीय सरकार आउनुपर्छः अध्यक्ष अग्रवाल
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता (अग्रवाल)ले अब हुने स्थानीय तहको निर्वाचनमा व्यवसायीमैत्री स्थानीय सरकार आउनुपर्ने बताउनुभएको छ । अबको निर्वाचन महत्वपूर्ण रहेको र व्यवसायीमैत्री स्थानीय सरकार आउनुपर्ने उहाँको भनाई छ ।
सबै व्यवसायीहरु पनि मतदाता हुने भएकाले उहाँले व्यवसायी, उद्योगीहरुको कुरालाई सुनवाई गर्ने प्रतिनिधि छान्न आग्रह गर्नुभयो । स्थानीय सरकारसँग व्यवसायीहरुको धेरै चाहना हुने र स्थानीय सरकारहरुसँग आफूहरुका धेरै कुराहरु जोडिएको उहाँले बताउनुभयो । व्यवसायी कर, विज्ञापन कर, घरबहाल करजस्ता कुराहरु स्थानीय सरकारसँग जोडिएको उहाँले बताउनुभयो ।
उद्योग, व्यवसायको क्षेत्रमा स्थानीय सरकारले सहज वातावरण बनाएमा आर्थिक विकास हुने, सबैले रोजगार पाउने, कर वृद्धि हुनेजस्ता सबल पक्ष रहेको उहाँले बताउनुभयो । उहाँले अबको नेतृत्वमा जुनसुकै पार्टीको स्थानीय सरकार आए पनि उद्योगी, व्यवसायीहरुलाई समेट्ने गरी लक्षित कार्यक्रम, नीति, ऐन बनाउन आग्रह गर्नुभयो । स्थानीय सरकारसँग विभिन्न कार्यहरुमा समन्वय गर्न आफूहरु पूर्ण तयार रहेको उहाँले बताउनुभयो । अहिले स्थानीय तहको निर्वाचनमा आर्थिक क्षेत्र चलायमान भएको उहाँको भनाई छ ।
स्थानीय सरकारले औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्छः अध्यक्ष प्याकुरेल
हेटौंडाः उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले स्थानीय सरकारले औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । अर्थतन्त्रमा उद्योगले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई छ ।
अहिले बजारमा तरलताको अभाव रहेको उहाँले बताउनुभयो । जसकारण उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उत्पादनमा जोड नदिएसम्म बजारमा तरलताको अभाव हुुने, वैदेशिक मुद्राको अभाव हुने उहाँको भनाई छ । स्थानीय सरकारले स्वदेशी र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।
“स्थानीय सरकारले विभिन्न सामानहरु खरिद गर्ने हुन्छ, त्यसमा स्थानीय वस्तु र उत्पादन खरिदमा ध्यान दियो भने यहाँको अर्थतन्त्रलाई टेवा पुग्छ, आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ”, अध्यक्ष प्याकुरेलले भन्नुभयो–“देशका सबै उद्योगहरुमा औसत दरले हेर्दा एउटा उद्योगले ७५ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ ।” उद्योग क्षेत्रको विकास भएमा रोजगारी वृद्धि हुने र मानिसको क्रय क्षमता पनि बढ्ने उहाँले बताउनुभयो । कुनै पनि व्यक्तिले आम्दानी गरेपछि खर्च गर्ने र बजार आर्थिकरुपले चलायमान हुने उहाँको भनाई छ ।
स्थानीय सरकारले पनि उद्योगको विकास गर्यो भने त्यसले दिगो समयसम्म स्थानीय तहलाई सहयोग पुग्ने र स्थानीय तह आर्थिकरुपमा आफैंमा आत्मनिर्भर बन्ने उहाँको भनाई छ । स्थानीय तहले गर्ने खरिदमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्राथमिकता दिने, ऊर्जा, पानी र अन्य विकासमा जोड दिएर ५ वर्ष काम गरेमा अर्को ५ वर्षमा आत्मनिर्भर बन्ने उहाँआग्रह गर्नुभयो ।