प्रिया पौडेल

हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित बागमति गाउँपालिका भौगोलिक रुपमा ठूलो छ । साविकको फापरबारी, राईगाउँ र बेतिनी गाउँ विकास समिति समेटिएको बागमति गाउँपालिका पूर्वमा सिन्धुली, पश्चिममा बकैया, उत्तरमा ललितपुर र काभ्रे दक्षिणमा रौतहट जिल्लासँग जोडिएको छ । स्थानीय तह निर्वाचनमा बागमति गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट वहालवाला अध्यक्ष नेकपा माओवादी केन्द्रका सर्केश घलानको उम्मेदवारी रहेको छ । यस्तै, नेकपा एमालेको तर्फबाट अध्यक्षमा खेम जर्गा मगरको उम्मेदवारी छ । निर्वाचनमा प्रतिष्पर्धी देखिएका गठबन्धनका उम्मेदवार घलान र नेकपा एमालेका जर्गा मगरको साझा एजेण्डाको रुपमा बागमति गाउँपालिकालाई समृद्ध बनाउने रहेको छ । बागमतिका उम्मेदवारहरु समृद्धिको एजेण्डासहित यतिबेला घरदैलो अभियानमा छन् ।

बागमतिमा समृद्धिको सपना पुरा गर्नुछः घलान

हेटौंडाः स्थानीय तह निर्वाचनमा बागमति गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनको तर्फबाट वहालवाला अध्यक्ष नेकपा माओवादी केन्द्रका सर्केश घलानको उम्मेदवारी छ । स्थानीय तह दोस्रो कार्यकालका लागि उम्मेदवार दिनुभएको जर्गा मगरले संघीयता कार्यान्वयन भएपछि सुरुवाती धेरै कामहरु भएको जानकारी दिनुभयो । स्थानीयलाई समृद्धिको सपना बोकेर घलान चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “पहिलो स्थानीय संरचना निर्माण भयो । पहिलो कानुन बनाउने जिम्मेवारी हामीले पायौं । कानुन निर्मँण र कार्यान्वयनमा पनि समस्या भयो । स्थानीय तहको काम र भूमिका सिक्न नै हामीलाई केही समय लाग्यो । जसले गर्दा स्थानीयले अपेक्षा गरे अनुसार हामीले काम गर्न सकेनौं ।” आफैले पनि चाहे अनुसार गाउँपालिकामा परिवर्तन ल्याउन नसकेको उहाँले स्वीकार गर्नुभयो । सुरुमा काम गर्न अन्यौल भएको भन्दै उहाँले कर्मचारी व्यवस्थापन नहुँदा समस्या भएको जानकारी दिनुभयो । यस्तै, प्रदेश र संघीय सरकारले स्थानीय तहलाई दिने अधिकारका विषयहरु स्पष्ट नहुँदा र सरकारस“ग समन्वय नहुँदा पुरै अन्यौल रहेको बताउनुभयो । उहाँको अनुसार अन्यौलताको अवस्थामा काम कम हुनु स्वभाविक हो ।

५ वर्षको कार्यकालमा धेरै विषयहरु सिक्ने र जान्ने अवसर मिलेको भन्दै उहाँले अबको समय भनेको नितान्त विकास निर्माणमा फड्को मार्ने रहेको स्पष्ट पार्नुभयो । आफुप्रति जनताको अपेक्षा धेरै रहेको भन्दै उहाँले बागमति गाउँपालिका समृद्धिको बाटोमा हिँडेने धारणा राख्नुभयो । विगत ५ वर्षको कार्यकालमा सम्पन्न गरेको काम स्मरण गर्दै उहाँले भन्नुभयो, “जनताको आधारभूत समस्याहरु शिक्षा, पूर्वाधारको क्षेत्रमा हामीले काम गरेका छौं । विद्युत् विस्तारको काम भएको छ ।” जिल्लामा पहिलो पटक बागमति गाउँपालिकामा भूमिहीनहरुका लागि लालपुर्जा वितरण गरेको उहाँले जानकारी दिनुभयो । पहिलो कार्यकालमा राम्रो कामको सुरुवात भएको भन्दै उहाँले सबैको घर–घरमा बाटो पुगेको जानकारी दिनुभयो । नीति निर्माणमा माथिल्लो तहसँग समन्वय गरेर काम गरेको उहाँले बताउनुभयो ।

सहर केन्द्रित विकासलाई टाढा गर्दै गाउँपालिकाले केन्द्रबाट बजेट ल्याएर काम गर्न सफल भएको स्मरण गर्नुभयो । ५ वर्षको कार्यकालमा पूरा गर्न बाँकी रहेका धेरै योजनाहरु अधुरा रहेको भन्दै उहाँले आगामी कार्यकालमा अधुरा योजना पुरा गर्ने संकल्प गर्नुभयो । बागमति गाउँपालिकामा ५० वटा सामुदायिक र ३ वटा आधारभुत तहका संस्थागत विद्यालयहरु संचालित रहेको भन्दै उहाँले ५ वटा माध्यामिक तहका विद्यालयहरु मध्ये २ वटामा १२ कक्षासम्म अध्यापन भईरहेको जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि उहाँले ल्याउनु भएको योजना बारे जानकारी दिँदै वैदेशिक रोजगारी कम गर्ने, पहिलो जोड शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजना अगाडी ल्याउनु भएको छ । यस्तै, कृषि प्रदान देशको मर्म अनुसार स्थानीयलाई आत्मनिर्भर बनाउन कृषिमा बजेट लगानी गर्ने उहाँको योजना छ । अघिल्लो ५ वर्षको अवधिमा गरिएको काम र विकासले पनि बागमति गाउँपालिकाको स्थानीयको साथ घलानलाई हुने उहाँले विश्वास गर्नुभयो । बागमति गाउँलाई समृद्धिको सपना पुरा गर्ने हिसाबले पनि जित सुनिश्चित रहेको उहाँको दाबी छ ।

बागमतिमा सुशासन ल्याउनु छः जर्गा मगर

हेटौंडाः स्थानीय तहको बागमति गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेका खेम जर्गा मगरको सपना भनेको राम्रो बागमति बनाउने रहेको छ । बागमति गाउँपालिकामा सुशासन आवश्यक रहेको भन्दै उहाँ भ्रष्टचाररहित गाउपालिका बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

५ वर्षमा बागमतिको जनातको प्रतिव्यक्ति आय राष्ट्रिय मापदण्ड अनुसार पुर्याउन कृषि तथा पशुपालनमा व्यवसायिकरण गरेर उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय तहको पहिलो कार्यकालको कामबाट सन्तुष्ट नभएको भन्दै भौतिक निर्माण टालाटुली भएको दाबी गर्नुभयो । दिगो विकासको योजना अनुसार काम नभएको भन्दै उहाँले विकासका लागि आएको बजेटहरु बालुवामा पानी हालेको जस्तै भएको बताउनुभयो । अघिल्लो कार्यकालका पदाधिकारीले एकलौटी रुपमा आफ्नै तरिकाबाट काम गरेकोले धेरै बजेट खेर गएको, बस्ती उजाड भएको र ठाउ“–ठाउँमा पहिरो गएको आरोप लगाउनुभयो ।

अघिल्लो कार्यकालमा कार्यकर्ता पोस्ने र अनियमितताको काम धेरै भएको भन्दै आफ्नो कार्यकालमा भ्रष्टाचार अन्त्य गरी त्यसको भण्डाफोर गर्ने र कारबाहीको दायरामा ल्याउने जानकारी दिनुभयो । घरदैलो अभियानमा जनताको सुख, दुःख नजिकबाट नियाल्ने अवसर मिलेको भन्दै मतदाताको अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । जनप्रतिनीधि मालिक नभएर सेवक भएको भन्दै उहाँले बागमति गाउँँपालिकाको स्थानीय दुईछाक खान टाढा जान नपर्ने योजना सहित अगाडी बढ्ने जानकारी दिनुभयो । स्थानीयको पूर्ण सहयोगमा उहाँ अहिले घरदैलो अभियानमा हुनुहुन्छ ।