हेटौंडाः मकवानपुर प्रहरीले चोरीका तीन वटा मोटरसाइकल र लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हेटौंडा—११ थानाभर्याङ डेरा गरी बस्ने २६ वर्षीय अख्तर खान र हेटौंडा—१० घर भई हाल हेटौंडा—११ बस्ने १९ वर्षीय आर्यन बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
बुधबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा हेटौडा–१०, राप्तीरोडमा पार्किङ गरेर राखेको विजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको भनि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकलको खोजतलास गरेको थियो । मोटरसाइकल खोजतलास गर्ने क्रममा खान र बानियाँले मोटरसाइकल चोरी गरेको पाइएको कार्कीले बताउनुभयो ।
प्रहरीले प्रारम्भीक अनुसन्धान गर्दा उनीहरुले थप चोरी गरी लुकाइछिपाई राखेका ना ४१ प ५२०८ नम्बरको पल्सर मोटरसाइकल र बागमती प्रदेश ०३–००३ प ७२५२ नं. को २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बागमती प्रदेश ०३–००१ प ६८७२ नम्बरको बनाई लुकाइछिपाई राखेको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरु बस्ने कोठामा प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा लुकाइछिपाई राखेको लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ सय मिलिग्राम फेला परेको जनाइएको छ । उनीहरुलाई उक्त चोरी भएको मोटरसाइकल र उक्त पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले जानकारी बताउनुभयो ।