हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच अनुकुलको गठबन्धन भएको छ । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये कतै ५ दलीय गठबन्धन छ भने कतै दुई दलीय गठबन्धन छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टीबीच अनुकुलमा गठबन्धन बनेको छ भने गठबन्धन बन्न नसकेका वडामा मित्रवत् प्रतिस्पर्धा हुँदैछ ।
गठबन्धन दलबीच निर्वाचनमा रणनीतिक योजना बनाउँदै साझा चुनाव चिन्ह लिएको छ । वडा नम्बर १, ६, १०, १३, १७, १८ र १९ मा गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । अन्य वडामा भने अनुकुलको गठबन्धन बनेको छ । २ नम्बर वडामा अध्यक्षमा नेपाली कांग्रेसका विष्णुगोपाल महर्जन, खुला सदस्यमा नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद रिजाल, नेपाली कांग्रेसका सुरज बर्तौला, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी तारा ढुंगाना लामा, दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी मैया परियार उम्मेदवार बन्नुभएको छ । तीन दलबाट सहभागी भएको भए पनि सबैले चुनाव चिन्ह रुखबाट निर्वाचनमा सहभागी छन् ।
३ नम्बर वडामा माओवादी र नेकपा एकीकृत समाजवादी दलबीच तालमेल भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रुपेश बर्तौलासहित दुई सदस्य र दुई सदस्य नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन् । ३ नम्बर वडामा माओवादी केन्द्रकै चुनाव चिन्ह हँसिया हथौडामा सहभागी छन् । ४ नम्बर वडामा नेपाली कांग्रेसका हरिप्रसाद पौडेल, खुला सदस्यमा कांग्रेसका अर्जुनप्रसाद देवकोटा, नेकपा माओवादी केन्द्रका ईश्वरीप्रसाद कोइराला, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी अर्चना शेर्पा, दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी अम्बिका जोशी देउला उम्मेदवार बनेका छन् । सबै रुख चिन्हमा उम्मेदवार बनेका छन् ।
५ नम्बर वडामा अध्यक्षमा कांग्रेसका ह्यग्रीव आचार्य, खुला सदस्यमा कांग्रेसका आवेश लामा, माओवादी केन्द्रका झलक भुजेल र महिला सदस्यमा माओवादी केन्द्रकी रिता आचार्य र दलित महिला सदस्यमा कांग्रेसकी मनमाया बिक सदस्य उम्मेदवार बन्नु भएको छ । सबैजना चुनाव चिन्ह रुख लिएर निर्वाचनमा सहभागी छन् । ७ नम्बर वडाको अध्यक्षमा कांग्रेसका दामोदर गौतम, वडा सदस्य महिलामा समाजवादीकी सन्तुमाया पाख्रिन, दलित महिला सदस्यमा राप्रपाबाट राधिका बिक, खुला सदस्यमा कांग्रेसबाट दिनेश थापा मगर र माओवादीका श्यामसुन्दर परियार उम्मेदवार बनेका छन् । सबैजना रुख चिन्हबाट सहभागी छन् ।
८ नम्बर वडामा वडा अध्यक्षमा कांग्रेसका राम थापा, खुला वडा सदस्यमा माओवादीका नारायण लाल श्रेष्ठ, एकीकृत समाजवादीका गोरखनाथ राय, दलित महिला सदस्यमा जनता समाजवादी पार्टी (जसपा) की रिता सार्की, महिला सदस्यमा राप्रपाकी सरस्वती कुमारी थिङ उम्मेदवार बनेका छन् । सबै रुख चिन्हमा निर्वाचनमा सहभागी हुँदैछन् ।
९ नम्बर वडा अध्यक्षमा समाजवादीका सुकराम केसी, महिला सदस्यमा कांग्रेसकी विन्दु लामा, खुला सदस्यमा कांग्रेसका बीरेन्द्र कुमार लामा माओवादी केन्द्रका विष्णु राना मगर, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी कमला पौडेल र दलित महिला सदस्यमा सुनिता दर्नाल उम्मेदवार बन्नु भएको छ । सबै उम्मेदवारको चुनाव चिन्ह कलम रहेको छ । यस्तै ११ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मधु कुमार थापा मगर, खुला सदस्यमा विकास नेपाल र सन्जय विडारी, महिला सदस्यमा भेषकुमारी थापा मगर, दलित महिलामा टक्कु बिश्वकर्मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । अध्यक्षमा गोलाकारभित्र हँसिया हथौडा र सदस्यमा रुख चिन्हबाटै उम्मेदवारहरु निर्वाचनमा सहभागी हुँदैछन् ।
१२ नम्बर वडा अध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी, महिला सदस्यमा पिंकी वाईबा गुरुङ, खुला सदस्यमा बसन्त थोकर र सुदर्शन प्रसाद लामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् भने जनता समाजवादी पार्टीबाट दलित महिला सदस्यमा लक्ष्मी मिजार उम्मेदवार बनेका छन् । कांग्रेसका उम्मेदवार रुख चिन्हबाट निर्वाचनमा सहभागी हुँदैछन् भने जसपाकी उम्मेदवार छाता चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुँदैछिन् । १४ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानेन्द्र मुक्तान, खुला वडा सदस्यमा कांग्रेसका नवराथ थिङ, नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर थिङ, महिला सदस्यमा कांग्रेसकी ओमकुमारी लामा मुक्तान, दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी पार्वती दर्नाल उम्मेदवार बनेका छन् । सबै उम्मेदवारले गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएका छन् ।
१५ नम्बर वडा अध्यक्षमा कांग्रेसका नवराज घलान, महिला दलित सदस्यमा कांग्रेसकी तुल्सी बिक, खुला सदस्यमा माओवादी केन्द्रका लिलाकुमार घलान र बीरमान घलान, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट बिमला सिन्तान उम्मेदवार बनेका छन् । सबै उम्मेदवारको चुनाव चिन्ह रुख रहेको छ । १६ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण कोइराला, खुला सदस्यमा कांग्रेसका गुरुप्रसाद ढकाल, दलित महिला सदस्यमा कांग्रेसकी संगीता बिक, नेकपा माओवादी केन्द्रबाछ राजन दाहाल र महिला सदस्यमा कमला धिमाल उम्मेदवार बनेका छन् । सबै रुख चिन्हबाट निर्वाचनमा सहभागी हुँदैछन् ।
गठबन्धन दलबीच वडा तहमा भएको सहमतिले एक अर्काको मत जोडेर अनुकुलको नतीजा आउने अपेक्षा एकातर्फ छ भने अर्कोतर्फ चुनाव चिन्हबारे मतदातालाई स्पष्ट पार्न नसक्दा मत बदर हुने र नतीजा प्रतिकुल हुने जोखिम छ । आआफ्नै चुनाव चिन्हमा सहभागी हुँदा मतदाताले मत प्रकट गर्ने क्रममा स्पष्ट हुन नसक्ने जोखिम रहन्छ भने एउटै चुनाव चिन्ह कायम गर्दा चिने, जानेकाले सम्बन्धित दलकै चुनाव चिन्हमा मत प्रकट गर्ने अवस्था रहन सक्छ ।