पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः सत्तारुढ गठबन्धनबीच हेटौंडा उपमहानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमतिप्रति नेपाली कांग्रेस मकवानपुरका पदाधिकारीहरुले ध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धन दलबीच बुधबार भएको सहमतिप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस मकवानपुरका उपसभापतिद्वय आनन्द कठायत, धर्म लामिछाने, सचिव ईश्वर पाठक, कोषाध्यक्ष होमनाथ गौतम, सहसचिव ईन्दिरा न्यौपाने, पूर्वसभापतिहरु रामचन्द्र अर्याल, रघुरमण न्यौपानेलगायत जिल्ला समितिका सदस्यहरुले संयुक्त हस्ताक्षर गरिएको विज्ञप्ति सार्वजनिक गरेरध्यानाकर्षण भएको जनाएको छ ।

गठबन्धनको निर्णय सच्याउन आग्रह गर्दै यथास्थितिमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्म विपरित परिणाम आएमा कांग्रेस जिम्मेवार हुने पनि स्पष्ट पारेको छ । बिहीबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर ध्यानाकर्षण भएको जनाएको हो । यसअघि कांग्रेस हेटौंडा उपमहानगर समितिले पनि गठबन्धनको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।